१७ भदौ, काठमाडौं । रसुवामा आएको बाढीका कारण बेपत्ता आफन्त जीवित फर्किने आशा मारेका परिवारजनले काँस–कुशबाट शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गरेका छन् ।
बुधबार पशुपति आर्यघाटमा दर्जनौँ बेपत्ताको काँस–कुशबाट बनाइएका प्रतीकात्मक शवको हिन्दू परम्पराअनुसार सामूहिक अन्त्येष्टि गरिएको हो ।
बेपत्ता आफन्तको मृत्यु भएको स्वीकार गर्दै परिवारजन र आफन्तले धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेका हुन् । आर्यघाटमा बेपत्ताका परिवारजन तथा आफन्तको बाक्लो भीड लागेको थियो ।
आफ्ना आफन्तको प्रतीकात्मक शवलाई अन्तिम संस्कारका लागि घाटसम्म लैजाँदै गर्दा परिवारजन भावविह्वल बनेका थिए । लामो समयदेखि बेपत्ताको खोजी र उनीहरू जीवित भेटिने आशामा रहेका परिवारजनले अन्ततः हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरेका हुन् ।
बेपत्ता आफन्तलाई सम्झिँदै परिवारजनले गरेको अन्तिम संस्कारको दृश्य पशुपति आर्यघाटमा निकै कारुणिक देखिएको थियो ।