त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन माग गर्दै पीडित परिवारले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
बेपत्ता भएका व्यक्तिका परिवार तथा आफन्तले १३ दिन बितिसक्दा पनि उद्धार कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउन धर्नासहित प्रदर्शन गरेका हुन्। उनीहरूले आवश्यक परे मित्रराष्ट्रको सहयोग लिएर भए पनि उच्च क्षमताका उपकरण तत्काल घटनास्थलमा पुर्याई उद्धार कार्यलाई तीव्रता दिन माग गरेका छन्।
त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा बेपत्ता भएका सुमेश अमात्यका दाजु रमेश अमात्यले लामो समय बितिसक्दा पनि उद्धार कार्यले अपेक्षित गति लिन नसकेपछि सरकारलाई दबाब दिन प्रदर्शन गर्नुपरेको बताउनुभयो।
उहाँका अनुसार बाढी आएको समयमा आयोजना स्थलको क्याम्प भवनमा बैठक चलिरहेको थियो। सोही भवन पुरिँदा करिब ४२ जना मानिसभित्र थुनिएको हुनसक्ने आशंका गरिएको छ।
अमात्यले उद्धारका लागि यसअघि घटनास्थलमा लगिएको सानो एक्जाभेटरले प्रभावकारी रूपमा काम गर्न नसकेको बताउनुभयो। ठूलो क्षमताको एक्जाभेटर घटनास्थलसम्म पुर्याउन सक्ने क्षमताको हेलिकप्टर उपलब्ध नहुँदा उद्धार कार्य प्रभावित भएको उहाँको भनाइ छ।
उहाँले ठूलो क्षमताका हेलिकप्टर तथा आवश्यक उपकरण उपलब्ध गराउन भारत र चीनजस्ता छिमेकी मुलुकले सहयोग गर्ने तत्परता देखाए पनि सरकारले समयमै पहल नगरेको आरोप लगाउनुभयो।
पीडित परिवारले तत्काल उच्च क्षमताका उपकरण तथा आवश्यक जनशक्ति परिचालन गरी उद्धार कार्य अघि बढाउन सरकारसँग माग गरेका छन्। उनीहरूले बेपत्ता व्यक्तिको खोजीमा ढिलाइ नगर्न र उद्धारका लागि उपलब्ध सबै सम्भावित स्रोत तथा प्रविधिको प्रयोग गर्न आग्रह गरेका छन्।