महोत्तरी । बलवा नगरपालिकाको वन्चौरी तथा महोत्तरी गाउँपालिकाको गोरिगमा र मडै बस्ती नजिक रातु नदीको बाँध भत्किँदा जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।
मंगलबार भत्किएको बाँधबाट पानी निरन्तर बगेर बुधबार साँझदेखि जलेश्वर बजार क्षेत्रमा पस्न थालेको थियो। पानी निकासको उचित व्यवस्था नहुँदा पानी जम्दै गएपछि बिहीबार जलेश्वरको बजार क्षेत्र जलमग्न भएको हो ।
जलेश्वर–१ स्थित नगरपालिकाचोकदेखि हटिया क्षेत्रसम्म सडक तथा आसपासका स्थानमा पानी जमेको छ। बाँध तीन ठाउँमा भत्किँदा मडै र गोरिगमा क्षेत्रका खेतमा समेत बाढी पसेर धानबालीमा क्षति पुगेको छ ।
महोत्तरी–६ गोरिगमाका किसान भोला महतोका अनुसार हरेक वर्ष सोही स्थानमा बाँध भत्किने गरेको छ। बाढीका कारण काट्ने बेलाको धान लडेर नष्ट भएको उनले बताए ।
गत वर्ष पनि वन्चौरी क्षेत्रमा बाँध भत्किएको थियो । यसपटक जलेश्वर बजारमा समेत पानी पसेपछि यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ। पैदल हिँडडुल गर्नसमेत समस्या भएको जलेश्वर–१ का विनोद पासवानले बताए ।
बाढी नगर क्षेत्रमा पसेपछि भत्किएको बाँध तत्काल मर्मतसम्भार गर्ने तथा जलेश्वरको पुछारतर्फ पानी निकासको व्यवस्था मिलाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
बाढीका कारण महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरिगमा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौली क्षेत्रमा धानबालीमा क्षति पुगेको जनाइएको छ ।