बडादसैँको विजयादशमीका अवसरमा मधेशका विभिन्न स्थानमा जात्रा पर्व मनाइएको छ ।
माता दुर्गाको प्रतिमालाई विधिपूर्वक बिदाइ गर्दै विसर्जन गरेर जात्रा पर्व मनाइएको हो । दुर्गा मातालाई बिदाइ गर्दै शुभयात्राको कामनासहित बुधबार मधेशका गाउँगाउँ तथा देवस्थलमा स्थापना गरिएका दुर्गा माताका माटाका प्रतिमालाई परम्परागत रूपमा बिदाइ गरिएको छ ।
जात्रा पर्व परेकाले बुधबारको दिनलाई नवदुलही माइतीबाट ससुराली जानका लागि अत्यन्तै शुभ मान्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ । यही मान्यताअनुसार बुधबारदेखि नै यहाँ स्थापना गरिएका माटाका दुर्गा माताका प्रतिमालाई नजिकैका जलाशयमा लगेर विसर्जन गर्ने गरिन्छ ।
यता, महोत्तरीको गौशालामा भने विधिपूर्वक देवीको बिदाइ गरिए पनि प्रतिमा विसर्जनको कार्य पूर्णिमाका दिन मात्र गरिने मेला समितिका अध्यक्ष धीरज शाहले बताए । उनका अनुसार गौशालामा वर्षौँदेखि स्थापना गरिँदै आएको दुर्गा माताको प्रतिमा पूर्णिमाकै दिन विसर्जन गर्ने परम्परा रहँदै आएको छ ।
गौशाला नगरपालिका–५ मा करिब २०० मिटरको दूरीमा रहेका दुई छुट्टाछुट्टै स्थानमा दुर्गा माताका प्रतिमा स्थापना गरी भव्य मेलासमेत आयोजना गरिएको छ ।