सशस्त्र प्रहरी बल पर्साले वीरगंज महानगरपालिका–१६ भन्सार मेनगेटबाट ठूलो परिमाणमा सुन तथा हिराका गरगहना बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सवारी साधन जाँच गर्ने क्रममा ती गरगहना फेला पारेको हो ।
सशस्त्र प्रहरी पर्साका डिएसपी नरेन्द्र सिंह धामीका अनुसार बरामद गरिएका गरगहनाको कुल मूल्य ५८ लाख ६६ हजार ९२७ रुपैयाँ रहेको छ । जसअनुसार, ३६ लाख १५ हजार ८७ रुपैयाँ बराबरका हिरा तथा २२ लाख ५१ हजार ८४० रुपैयाँ मूल्य बराबरका सुनका गरगहना बरामद गरिएको हो ।
बरामद गरगहनामा १० थान बाला, १ थान ब्रासलेट, ९ थान फेन्सी ब्रासलेट, ४/४ थान औंठी र मंगलसूत्र, ११ थान विभिन्न प्रकारका गरगहना, ४ थान लकेट, १३ थान झुम्का तथा ६ जोर टप रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सुन तथा हिराका गरगहनाहरू आवश्यक कानुनी प्रक्रिया पूरा गर्न वीरगंज भन्सार कार्यालयलाई जिम्मा लगाइएको सशस्त्रले जनाएको छ ।