वीरगञ्ज — पर्साको जगरनाथपुर गाउँपालिकामा रहेका माध्यमिक विद्यालयबाट यस वर्षको एसईई परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बिदाइ गरेका छन् ।
होली पर्वको अवसर पारेर जगरनाथपुर गाउँपालिका–५ स्थित नेरामावि सन्ठीमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले पालिकाका तीन सामुदायिक विद्यालयका एक सय जना विद्यार्थीलाई बिदाइ गर्दै उपहार प्रदान गरेका थिए ।एसईई परीक्षार्थीलाई डायरी, कलम लगायतका शैक्षिक सामग्री तथा च्यवनप्राश वितरण गरिएको थियो। साथै, अध्यक्ष यादवले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कार तथा उच्च शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरे ।
कार्यक्रममा उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।