रौतहट — एसईई परीक्षामा पैसा लिई चिट चोर्न सहयोग गरेको आरोपमा एकजना परीक्षा निरीक्षकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको यमुनामाई गाउँपालिका–५ स्थित श्री यमुनामाई माध्यमिक विद्यालय झुन्खुन्वा परीक्षा केन्द्रका परीक्षा निरीक्षक र मौलापुर–५ को श्री लक्ष्मिनियाँ मावि परीक्षा केन्द्रमा बाहिरबाट चिट पठाउने एकजनालाई पक्राउ गरिएको हो ।
रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायका अनुसार पक्राउ परेका दुवैले परीक्षाको पहिलो दिन पैसा लिएर परीक्षार्थीहरूलाई चिट उपलब्ध गराउने उद्देश्यले परीक्षा हलमा मोबाइल लुकाएर प्रवेश गराएका थिए ।
प्रहरीले रौतहटका विभिन्न परीक्षा केन्द्रमा चेकजाँच गर्दै परीक्षार्थीहरूले शरीरमा लुकाइछिपाई ल्याएका ४ सय २४ वटा मोबाइल बरामद गरेको छ ।
पक्राउ परेकामाथि परीक्षाको मर्यादा भंग गरेको आरोपमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।