काठमाडौँ । जनमत पार्टीले आन्दोलनरत शिक्षकहरूको न्यायोचित माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूसँग तत्काल वार्ता थाल्न र शिक्षा ऐन जारी गर्न सरकारलाई आग्रह गरेका हुन् ।
विगत १८ दिनदेखि नेपाल शिक्षक महासङ्घको नेतृत्वमा राजधानी केन्द्रित आन्दोलन जारी छ। आन्दोलनका कारण काठमाडौँको बानेश्वर क्षेत्र प्रभावित बनेको छ भने सवारी आवागमनमा समेत अवरोध आएको छ ।
विज्ञप्तिमा शिक्षा नीतिसम्बन्धी ऐन, कानुनको अभाव र शिक्षामा देखिएको अन्योलताले शिक्षक आन्दोलन चर्किएको उल्लेख गरिएको छ। जनमत पार्टीले शिक्षा क्षेत्रमा देखा परेका विकृति अन्त्य गरी गुणस्तरीय, पारदर्शी र सबल शिक्षा प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
शिक्षक आन्दोलनले देशभरका विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको भन्दै जनमत पार्टीले समस्या समाधानका लागि संवाद र सहकार्यको बाटो अपनाउन सरकारलाई अनुरोध गरेको छ ।