भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।
भारतीय पत्रिका दैनिक भास्कर तथा समाचार एजेन्सीहरूका अनुसार पाकिस्तानको बहावलपुर क्षेत्रमा सोमबार राति भएको हवाई आक्रमणमा ३० जनाको मृत्यु भएको छ । मृतकमध्ये केही सशस्त्र समूहका सदस्य रहेको भारतको दाबी छ भने पाकिस्तानले सर्वसाधारण र बालबालिका मारिएको दाबी गरेको छ ।
भारतले ‘अपरेसन सिन्दुर’ नाम दिइएको यो सैन्य कारवाही पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफस्वरूप गरेको हो । १५ दिनअघि भारतको पहलगाममा भएको बम विस्फोटमा १२ भारतीय सुरक्षाकर्मीको मृत्यु भएपछि भारतले प्रतिशोधका रूपमा यो कारवाही गरेको बताएको छ ।
भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) मा रहेका नौ स्थानमा आक्रमण गरेको जनाएको छ। लक्षित क्षेत्रमा लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मदका मुख्यालय रहेको भारतको दाबी छ । एएनआईका अनुसार बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ठूला क्षेप्यास्त्र आक्रमण गरिएको छ। पाकिस्तानको सेनाले भने भारतको आक्रमणलाई ‘मानव अधिकारविरोधी र निन्दनीय’ भनेको छ ।
पाकिस्तानी सेनाको इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (ISPR) प्रमुख लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीका अनुसार भारतले कुल २४ वटा क्षेप्यास्त्र प्रयोग गरेको र तीमध्ये केही सर्वसाधारणको बस्तीमा खसेको बताएका छन् । उनका अनुसार बालबालिकासहित धेरै निर्दोष नागरिकको मृत्यु भएको छ ।
युद्धको संभावना गहिरिँदै जाँदा दुबै देशले उच्च सुरक्षा सतर्कता अपनाएका छन् । दक्षिण एशियाका दुई आणविक शक्तिहरूबीचको यो तनावले समग्र क्षेत्रीय सुरक्षामा गम्भीर असर पार्न सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय समुदायको चासो
यो घटनाले रुस–युक्रेन र इजरायल–गाजामा चलिरहेको द्वन्द्वका बीचमा विश्व राजनीतिमा अर्को अशान्तिको ध्वनि थपेको छ। संयुक्त राष्ट्रसंघ, अमेरिका र चीनले तत्काल संयम अपनाउन दुबै पक्षलाई आग्रह गरेका छन् ।