भारतको 'अपरेसन सिन्दुर' अन्तर्गत पाकिस्तानमा भएको हवाई आक्रमणपछि पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ ।
प्रधानमन्त्री शेहबाज शरीफको अध्यक्षतामा बुधबार इस्लामाबादमा सम्पन्न सो बैठकले पाकिस्तानको सशस्त्र बललाई उपयुक्त कारबाहीका लागि सम्पूर्ण अधिकार दिएको घोषणा गरेको छ ।
प्रधानमन्त्री निवासद्वारा जारी विज्ञप्तिअनुसार पाकिस्तानले आफ्नो समय, स्थान र तरिकामा भारतको आक्रमणको जवाफ दिने अधिकार सुरक्षित राखेको छ । विज्ञप्तिमा भनिएको छ, “संयुक्त राष्ट्रसंघको बडापत्र अनुसार पाकिस्तानले आत्मरक्षाको अधिकार अन्तर्गत जवाफ दिनेछ। निर्दोष नागरिकको ज्यान गएको र सार्वभौमसत्ता उल्लंघन भएकोले प्रतिक्रिया अपरिहार्य छ ।”
बैठकमा पाकिस्तानका सेनापति, गुप्तचर प्रमुख, परराष्ट्रमन्त्री लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । पाकिस्तान सरकारले भारतीय आक्रमणलाई ‘अन्तर्राष्ट्रिय कानूनको खुला उल्लंघन' भनेको छ र यस घटनाको गम्भीरता बुझ्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।
पाकिस्तानी सुरक्षा समितिले अन्तर्राष्ट्रिय समुदायलाई भारतका कदमलाई ‘गैरकानूनी, उक्साहटपूर्ण र क्षेत्रीय शान्तिको विरुद्ध’ भनी चिह्नित गर्न अनुरोध गर्दै संयुक्त राष्ट्रसंघ, ओआईसी (इस्लामिक सहयोग संगठन), र शक्तिशाली राष्ट्रहरूलाई हस्तक्षेप गर्न आह्वान गरेको छ ।
बैठकमा आक्रमणमा ज्यान गुमाएका नागरिकहरूप्रति शोक व्यक्त गर्दै राष्ट्रलाई एकजुट रहन अपिल गरिएको छ । सेनाको बहादुरीको प्रशंसा गर्दै, पाकिस्तानले देशको रक्षा गर्न कुनै पनि मूल्य चुकाउन तयार रहेको सन्देश दिएको छ । यो निर्णयसँगै दक्षिण एशियाली क्षेत्रीय सुरक्षा परिस्थिति थप तनावग्रस्त बन्दै गएको छ ।
दुई आणविक हतियारधारी राष्ट्रबीच खुला युद्धको सम्भावना बढ्दै गएको विश्लेषकहरूको चेतावनी छ ।