मुम्बई | बलिउड सुपरस्टार सलमान खानले आफ्नो पछिल्लो चलचित्र सिकन्दर अपेक्षित सफल नभएपछि केही समय विश्राम लिन्छन् भन्ने अड्कलबाजी गरिएको थियो । तर, सलमान भने पुनः धमाकेदार रुपमा ठूलो स्केलको चलचित्रमा फर्किने तयारीमा छन् । पछिल्लो रिपोर्टअनुसार, उनले गलवान भ्याली विवादमा आधारित युद्ध-नाटक चलचित्रमा काम सुरु गर्न लागेका छन् ।
स्रोतका अनुसार सलमानले निर्देशक अपूर्व लाखियाको निर्देशनमा बन्ने यस चलचित्रलाई औपचारिकरूपमा साइन गरिसकेका छन्, र चाँडै नै लद्दाख क्षेत्रमा यसको छायांकन सुरु हुने बताइएको छ । यो फिल्म भारत-चीनबीच सन् २०२०–२१ मा भएको गलवान भिडन्तमा आधारित हुनेछ । सलमान यसमा एक फौजीको भूमिकामा देखिनेछन् ।
यसअघि सलमानले गंगाराम तथा बजरंगी भाईजान २ जस्ता प्रोजेक्टहरूमा रुचि देखाए पनि, निर्देशक कबीर खानले बजरंगी भाईजान २ निर्देशन गर्न अस्वीकार गरेपछि सलमानले यो युद्ध चलचित्रमा प्राथमिकता दिएका हुन्। उनी चाहन्थे कि बजरंगी भाईजान २ कबीर खानकै निर्देशनमा बनोस्, तर कबीरले त्यो प्रोजेक्टमा हात नहाल्ने निर्णय लिएपछि चलचित्र स्थगित भएको हो ।
'सिकन्दर'को कमजोर प्रदर्शनपछि सलमानलाई विभिन्न ठूला निर्देशकहरूले नयाँ कथाहरू लिएर अप्रोच गरेका थिए। तर उनले गलवान भ्यालीको कथा प्रति विशेष चासो देखाएको मिडिया रिपोर्टले उल्लेख गर्छ । यस चलचित्रको निर्माण स्वयम् सलमान खानले गर्ने सम्भावना पनि रहेको छ । अपूर्व लाखियाले चाँडै नै छायांकनको समयतालिका तय गर्ने र सलमानका मिति सुनिश्चित गर्ने तयारी गरिरहेका छन् ।
यसैबीच, सलमान र कबीर खानले अलग एउटा स्ट्यान्डअलोन फिल्म बब्बर शेर बनाउने चर्चा पनि चलिरहेको छ, तर त्यो प्रोजेक्ट अहिलेसम्म अगाडि बढेको छैन ।
'सिकन्दर' पछि सलमानको करियरलाई पुनर्जीवित गर्ने दबाब
सिकन्दरजस्तो फिल्मको असफलतापछि सलमानका फ्यानहरू निराश छन् । अब गलवान वॉर फिल्म सफल भएमा मात्र सलमानको स्टारडम पुनः चम्किने आशा गरिएको छ। यसैले निर्देशक अपूर्व लाखियाको काँधमा अहिले ठूलो जिम्मेवारी आएको छ ।