वीरगंज महानगरपालिकाको मुटुमा रहेको घण्टाघर तरकारी बजारको अवस्था अहिले दयनिय बनेको छ ।
दैनिक हजाराैँ उपभोक्ताले फलफुल र तरकारी किनमेल गर्ने यो मुख्य बजार फोहोर र दुर्गन्धले ढाकिएको छ । तर महानगरपालिका भने मौन देखिन्छ ।
बजारको बीच मै थुपारिएको फोहोरमैलाले गर्दा न त विक्रेताहरू सुरक्षित छन्, न त उपभोक्ताहरू । फोहोरकै छेउमा राखिएका फलफूल र तरकारी उपभोक्ता खान बाध्य छन् । सरसफाइ नहुनु, नियमित फोहोर नउठाइनु, ढलको दुर्गन्ध र मच्छरकाे आतङ्कले गर्दा बजार क्षेत्र जोखिमपूर्ण बन्दै गएको छ ।
स्थानीय व्यापारी रवि साह भन्छन्, “हामीले पटक–पटक महानगरलाई ध्यानाकर्षण गरायौं, तर सुनुवाइ छैन । जहाँ–जहाँ फोहोर फालिन्छ, त्यहाँ जरिवाना गर्छन्, तर यति ठूलो बजार क्षेत्रमै फोहोर थुपार्दा महानगर चुप लागेर बस्छ ।”
घण्टाघर आसपासको क्षेत्र वीरगंजको प्राण मानिन्छ । त्यसैले यहाँ सरसफाइ र शुद्धता अत्यन्त जरुरी छ । तर तरकारी बजारमा भने, न त नियमित फोहोर उठाउने व्यवस्था छ, न त व्यवस्थित फोहोर व्यवस्थापन स्थल बनाइएकाे छ । फलस्वरूप बजार क्षेत्र फोहरको डंगुरमा परिणत भएको छ ।
महानगरपालिकाको मुख्य बजार क्षेत्रमा यस्तो दयनीय अवस्था हुनु आफैंमा स्थानीय सरकारको कार्यशैलीमाथि प्रश्न उठाउने विषय हो ।
भिडियाे सामाग्री