लुम्बिनी प्रदेशसभाकी समानुपातिक सांसद गीता गुरुङले मंगलबार पदबाट राजीनामा दिएकी छिन् ।
सीके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिकतर्फबाट निर्वाचित गुरुङले आफ्ना व्यक्तिगत मूल्य, जनप्रतिनिधिको जिम्मेवारी र देशको वर्तमान अवस्थाबीच तालमेल नमिलेकाले आफू पदमा रहिरहन नैतिक रूपले उचित नठानेको उल्लेख गर्दै राजीनामा दिएको जानकारी दिएकी हुन् ।
प्रदेशसभामा बुझाइएको राजीनामा पत्रमा गुरुङले लेखेकी छिन्, “म मेरो पदमा रही रहन उपयुक्त सम्झिनँ। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन् । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गरेको छु ।”
उनले समग्र राजनीतिक र शासन प्रणालीप्रति गहिरो असन्तुष्टि जनाउँदै अहिलेको राजनीतिक परिपाटीले जनताको वास्तविक मुद्दा उठाउन असफल भएको बताएकी छिन् । गुरुङले राजीनामा पत्रमार्फत देशको पछिल्लो परिस्थितिका कारण आफूले जिम्मेवारीपूर्वक काम गर्न नसकेको उल्लेख गरेकी छिन् ।
प्रदेशसभामा आफ्नो उपस्थिति औपचारिकतामा सीमित हुँदै गएको र पार्टीभित्र आफ्नो आवाज सुन्ने वातावरण समेत नरहेको गुनासो गर्दै उनले जनताको विश्वास र आफूले देखेको राजनीतिक परिवर्तनको सपना अधुरो रहेको उल्लेख गरेकी छिन् ।
गुरुङ सामाजिक अभियन्ता पनि हुन् । उनी पहिचान, महिला अधिकार, आदिवासी जनजातिको हकहित लगायत विषयमा सक्रिय रहँदै आएकी थिइन्। जनमत पार्टीको समानुपातिक सूचीमार्फत २०७९ को निर्वाचनमा उनी प्रदेशसभा प्रवेश गरेकी थिइन् ।
उनको राजीनामा पछि जनमत पार्टीले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन् ।