राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गतेदेखि सुरु हुने पार्टीको आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण र अनुशासित हुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै अध्यक्ष लिङ्देनले सरकारलाई हिंसा वा दमनको मौका नदिने गरी आन्दोलन सञ्चालन गरिने स्पष्ट पारे । "यसपटकको आन्दोलनलाई भद्र अवज्ञा र सत्याग्रहको बाटोबाट अघि बढाइनेछ। हामी आफ्नो मान्यता स्थापित गरेरै छाड्छौं," लिङ्देनले भने । उनले मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई आन्दोलनको दिन (जेठ १५) अनुगमन गर्न पनि आग्रह गरिने जानकारी दिए ।
हालै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिएको "हामी त बुढा भयौं, तपाईं चाहिँ भाग्न मिल्छ" भन्ने अभिव्यक्तिको जवाफ दिँदै लिङ्देनले व्यंग्य गर्दै भने, "जो भाग्न सक्दैनन्, उनीहरूलाई हेलिकप्टरको व्यवस्था गरिदिने तयारी हामीले गरेका छौं ।"
यता, राप्रपा नेपालका अध्यक्ष कमल थापाले आन्दोलनको तयारी जनताको घर–घरमा गएर गर्ने र नागरिकलाई पूर्ण जानकारी दिने बताए। उनले अबको आन्दोलनमा अग्रपंक्तिमा केन्द्रीय नेताहरू रहने र कुनै पनि दमन वा हस्तक्षेप भए अग्रपंक्तिका नेताहरूले नै प्रत्यक्ष रूपमा सामना गर्ने बताए ।
“यो आन्दोलन शान्तिपूर्ण हुने भएकाले ढुक्क भएर सहभागिता जनाउन जनसमुदायलाई आग्रह गर्दछु,” थापाले भने । अध्यक्ष थापाले भ्रष्टाचारविरुद्ध जनताको ऐक्यबद्धताबाटै आफ्नो एजेन्डा स्थापित गर्ने विश्वास व्यक्त गरे । पार्टीका अन्य नेताहरूले पनि संविधानको मूल मर्म र राजसंस्था पुनर्स्थापनासहितका मागहरू लिएर आन्दोलनलाई निर्णायक चरणमा पुर्याइने बताएका छन् ।
यसैबीच, सुरक्षाकर्मी तथा सरकारी निकायले आन्दोलनका दिनहरूमा सुरक्षा व्यवस्था कडा पार्ने तयारी थालेका छन् भने विभिन्न तहका अधिकारकर्मी र संस्थाहरूले आन्दोलनको प्रकृति र परिणामबारे चासो व्यक्त गरिरहेका छन् ।