जिल्ला प्रहरी कार्यालय, बाराको अनुसन्धान शाखाले पछिल्लो समय आफ्नो सेवा, संरचना र कार्यशैलीमा सुधार गर्दै नयाँ अनुहार पाएको छ ।
पहिले लथालिङ्ग र अस्तव्यस्त देखिने अपराध नियन्त्रण तथा अनुसन्धान शाखा अब सुविधा सम्पन्न र सेवामुखी बन्दै गएको छ । प्रहरी नायब निरीक्षक अर्जुनबाबु खतिवडाको पहलमा शाखामा आवश्यक स्रोतसाधनको व्यवस्थापन गरिएको छ ।
गर्मीमा पसिनाले लथालिङ्ग हुने अवस्था अन्त्य गर्दै शाखामा एयर कन्डिसन जडान गरिएको छ भने कम्प्युटर प्रणाली पनि व्यवस्थित बनाइएको छ । सेवाग्राहीको सहजताका लागि कार्यालयको भौतिक पूर्वाधार सुधारसँगै सेवा प्रवाह पनि प्रभावकारी बनाइएको छ ।
प्रहरी उपरीक्षक सन्तोष तामाङको नेतृत्वमा र नायब निरीक्षक खतिवडाको व्यवस्थापकीय क्षमतामा अनुसन्धान शाखाले उल्लेखनीय सुधार गरेको हो । यसै क्रममा सोमबार मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले अनुसन्धान शाखाको निरीक्षण गर्दै शाखाको व्यवस्थापनप्रति प्रशंसा व्यक्त गरे ।
चतुर्वेदीले बारामा देखिएको सुधारको नमुना अन्य जिल्लामा पनि विस्तार गर्नुपर्नेमा जोड दिए । उनले थपे, "जस्तो बारा प्रहरीको अनुसन्धान शाखा बनेको छ, त्यस्तै शाखा मधेसका सबै जिल्लामा निर्माण हुनु जरुरी छ ।"
सेवाग्राहीहरूका अनुसार शाखाको वातावरण अब निजी बैंकजस्तै सफा, व्यवस्थित र सेवामुखी भएको छ । प्रहरीका अनुसार बिना बिचौलिया सजिलै काम हुने, जानकारी पाउने, न्यायका लागि सहयोगी व्यवहार देखिने भएकोले सर्वसाधारण, विशेषतः गरीब र निमुखाहरू सन्तुष्ट छन् ।
प्रहरी नायब निरीक्षक खतिवडाको कार्यशैलीले प्रहरीप्रति जनताको भरोसा बढेको बताइएको छ । सामाजिक न्याय, समान पहुँच र पारदर्शी सेवा प्रवाहमा उनको प्रयासलाई समाजले सकारात्मक उदाहरणको रूपमा लिएको छ ।
भिडियाे सामाग्री