रौतहटको गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमा निर्मित बानेश्वरनाथ झोलुङ्गे पुलको मर्मत नहुँदा जोखिम बढ्दै गएको छ ।
गौर–२ स्थित बानेश्वरनाथ महादेव मन्दिरबाट करिब ५० मिटर पश्चिमतर्फ रहेको यो झोलुङ्गे पुल मधेश प्रदेशकै दोस्रो लामो झोलुङ्ग पुल हो । यो पुलमा प्रयोग गरिएका फलामे जाली, नट बोल्ट तथा मुख्य भार थेग्ने फलामे तार कमजोर हुँदै तथा खुल्दै गएका कारण आवागमन जोखिमपूर्ण बनेको छ । पुलको तत्काल मर्मतसम्भार गर्न स्थानीयले माग गरेका छन् । यो पुल भएर दैनिक सयौँ सङ्ख्यामा पैदल यात्रु, साइकल तथा मोटरसाइकलबाट आवतजावत गर्ने गरेका छन् ।
गौर–२ का पीयूष झाले पुलमा प्रयोग गरिएका फलामे जाली, नटबोल्ट तथा मुख्य भार थेग्ने फलामे तार कमजोर तथा खुल्दै गएकाले पुलबाट यात्रा गर्न जोखिमपूर्ण भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पुलका विभिन्न स्थानमा फलामे तार तथा नटबोल्टबाट छुट्टिएर झुन्डिएका छन् । पुलका दुवैतर्फ भार थेग्ने मुख्य फलामे तारसमेत विभिन्न स्थानमा खुलेका छन् । समयमै आवश्यक मर्मत नगरिए ठुलो दुर्घटनाको जोखिम हुन सक्छ ।”
गौर नगरपालिका–२ का पूर्ववडाध्यक्ष राकेश झाले दैनिक सयौँ मानिसको आवागमन हुने तथा पछिल्लो समय यहाँ पर्यटकीय गतिविधिसमेत बढ्दै गएकाले पुलको अवस्थाबारे नियमित निरीक्षण र मर्मत आवश्यक रहेको बताउनुभयो ।
यो पुलको २०८० वैशाख ७ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभएको थियो । पुल निर्माणपछि गौर र ईशनाथ क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ ।