सर्लाही । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा ट्रक र इभी गाडी एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
शनिबार सर्लाहीबाट पूर्वतर्फ बर्दिबास जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा इभीमा सवार यात्रुहरू घाइते भएका हुन् ।
दुर्घटनामा बाराको महागढीमाई नगरपालिका–६ का ४१ वर्षीय कामेश्वर सहनी, वडा नं. ९ का ४८ वर्षीय राजेन्द्र राम, सुवर्ण गाउँपालिका–४ का ३७ वर्षीय रञ्जित राम, ४५ वर्षीय भवन राम, ४० वर्षीय रामदेव राम, ४० वर्षीय विनोद राम, ४७ वर्षीय रुदल राम तथा सुवर्ण गाउँपालिका–७ का ६३ वर्षीय हरिहर राम घाइते भएका छन् ।
त्यस्तै, कलैया उपमहानगरपालिका–२६ का ३७ वर्षीय नन्दन राम र ३७ वर्षीय उमेश राम, पचरौता नगरपालिका–७ का ५५ वर्षीय रामसन्देश राम तथा सिम्रौनगढ नगरपालिका–४ का ४० वर्षीय नवलकिशोर राम पनि घाइते भएका छन् ।
घाइतेमध्ये सुवर्ण गाउँपालिका–४ निवासी ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि कलैयास्थित एलएस न्युरो अस्पताल पठाइएको छ ।
अन्य घाइतेहरूको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिनुभयो ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरमा राखिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।