प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली विद्यार्थीहरूलाई "विद्वान पुर्खाका सन्तानू बताउँदै उनीहरूको जेनेटिक पावर बलियो रहेको दाबी गरेका छन् ।
उनले नेपाली विद्यार्थीहरू विश्वका जुनसुकै विश्वविद्यालयसँग सजिलै प्रतिस्पर्धा गर्न सक्ने क्षमताका धनी रहेको उल्लेख गरे । मंगलबार जनकपुरधाममा आयोजित राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त धारणा व्यक्त गरेका हुन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीले नेपाल ज्ञानको भूमि भएको उल्लेख गर्दै पूर्वीय दर्शन र सभ्यताको गहिरो व्याख्या गरे ।
प्रधानमन्त्री ओलीले भने, “नेपाल ज्ञानको भूमि हो। शैव र विश्वामित्रजस्ता पुराना सभ्यताको धरोहर भएको मुलुक हो । विश्वका पहिलो आयुर्वेदाचार्य चरक ऋषि यही देशका हुन् न्यूटनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउनु भन्दा धेरै अघिदेखि भाष्कराचार्यले विसं १२१० मा ुसिद्धान्त शिरोमणिु पुस्तक मार्फत ज्ञान प्रस्तुत गरिसकेका थिए ।”
पूर्वीय दर्शनबारे उठाइने भ्रमको खण्डन गर्दै उनले थपे, “पूर्वीय दर्शन अन्धविश्वासमा आधारित हो भन्ने भ्रम दिन खोजिएको छ, त्यो सत्य होइन । पूर्वीय दर्शन त सिद्धान्त हो — अनुभूति, अनुभव र ज्ञानको संग्रहबाट बनेको सिद्धान्त । यस दर्शनका हिमायतीहरू कमजोर हुन सक्दैनन् ।”
समारोहमा विभिन्न संकाय र तहका १२५ विद्यार्थीलाई उपाधि प्रदान गरिएको थियो । सो अवसरमा वरिष्ठ साहित्यकार डा। राजेन्द्र विमलले दीक्षान्त मन्तव्य व्यक्त गरेका थिए ।