मधेस प्रदेश सरकारले प्रदेशभरका उत्कृष्ट शिक्षकहरूलाई सम्मान गर्न ‘एक पालिका, एक उत्कृष्ट शिक्षक पुरस्कार’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
शिक्षा तथा संस्कृति मन्त्रालय, मधेस प्रदेशले सार्वजनिक गरेको सूचनामा प्रदेशका १३६ वटै स्थानीय तहहरूलाई सिफारिस पठाउन निर्देशन दिएको हो । शिक्षा मन्त्रालयका अनुसार प्रत्येक पालिकाले तीन जना योग्य शिक्षकको नाम सिफारिस गरी असार २ गतेभित्र मन्त्रालयमा पठाउनु पर्नेछ । सिफारिसका लागि मन्त्रालयले छवटा मूल्यांकन मापदण्ड तोकेको छ ।
मूल्यांकन मापदण्डहरू यस प्रकार छन्:
- शिक्षकले अध्यापन गरेको विषयमा कक्षाको पास प्रतिशत र अन्तिम परीक्षाको नतिजा,
- शैक्षिक सत्र २०८१ मा विद्यालयमा उपस्थिति दिन,
- अध्यापन गरेको विषयसँग सम्बन्धित अनुगमन प्रतिवेदन,
- शिक्षकको सेवा अवधि,
- शिक्षण कार्यबाहेक अतिरिक्त जिम्मेवारीहरू,
- अभिभावक, विद्यालय परिवार, विद्यार्थी र समुदायसँगको समन्वय ।
शिक्षा मन्त्रालयका शाखा अधिकृत राम हृदयर यादवद्वारा हस्ताक्षरित पत्रमा सबै पालिकालाई सिफारिसको विवरण समयमै पठाउन अनुरोध गरिएको छ ।
मन्त्रालयका अनुसार, यस कार्यक्रमले शिक्षण पेशाप्रति सम्मान प्रकट गर्नुका साथै प्रेरणा र हौसला प्रदान गर्ने लक्ष्य लिएको छ । योग्य शिक्षकको योगदानलाई संस्थागत रूपमा मूल्यांकन गरी प्रदेशस्तरीय सम्मान प्रदान गरिनेछ ।