नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जारी आन्दोलनलाई हाललाई स्थगित गरेका छन् ।
बुधबार सम्पन्न दुवै महासंघको संयुक्त राष्ट्रिय भेलाले आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो । हालसालै काठमाडौंसहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा सुनचाँदी पसलहरू बन्द गरि विरोध गरिएको थियो । यद्यपि, सरकारले व्यवसायीको प्रमुख मागहरू सम्बोधन नगरे पनि बिहीबारदेखि पसलहरू पुनः खोलिएको महासंघले जनाएको छ ।
महासंघले सरकारलाई असार मसान्तसम्मको समय दिँदै आफ्नो माग पुरा नभए थप सशक्त आन्दोलनमा जाने चेतावनी दिएको छ । उनीहरूको मागअनुसार सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्नेछ ।
त्यस्तै, सुनको भन्सार दर नेपाल र भारतबीच समान बनाउनुपर्ने माग पनि व्यवसायीहरूको छ । यदि असार मसान्तसम्म मागहरू पुरा नभए संयुक्त आन्दोलन समिति गठन गरी देशव्यापी सशक्त आन्दोलन गर्ने तयारी व्यवसायीले गरेका छन् ।