आगामी २४ घण्टामा देशका विभिन्न स्थानहरूमा भारी वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका पूर्वी भूभागमा मनसुनी वायु सक्रिय छ भने पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। साथै भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापीय क्षेत्रको समेत आंशिक असर परेको बताइएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम तथा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षा वा हिमपात हुने अनुमान गरिएको छ ।
महाशाखाले संभावित वर्षा तथा हिमपातका कारण बाढी, पहिरो तथा सडक अबरुद्ध हुन सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।