मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले देशमा नेताहरू बेइमान हुनुको मुख्य कारण नै जनताको गैरइमानदारिता रहेको बताएका छन् ।
शनिबार पर्साको पोखरिया नगरपालिकामा आयोजित ‘सभामुख जनतासँग’ कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले जनता र जनप्रतिनिधिबीच संवादको खाँचो औंल्याउँदै भने, “जबसम्म जनता इमानदार हुँदैनन्, तबसम्म नेता पनि इमानदार हुँदैनन्, र देशले समृद्धि हासिल गर्न सक्दैन ।”
पैसामा बिक्ने मतको प्रवृत्ति
सभामुख मण्डलले पछिल्लो समयमा चुनावका बेला पैसा, मासु र मदिराको भरमा ठेकेदार र व्यापारीलाई जिताउने प्रवृत्तिले व्यापकता पाएको भन्दै चिन्ता व्यक्त गरे । उनले यस्ता व्यक्ति जनसेवक बन्न नसक्ने जिकिर गर्दै नेता र जनताबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने धारणा राखे ।
परिवारवाद र न्यून बजेटको समस्या
उनले कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा परिवारवाद हाबी भएको स्वीकार गर्दै यसमा प्रदेश सरकार स्वयं पनि जिम्मेवार रहेको उल्लेख गरे । साथै, जनता सचेत भएमा कुनै पनि क्षेत्रमा परिवारवाद हाबी हुन नसक्ने दाबी गरे ।
सभामुख मण्डलले मधेस प्रदेशमा ७० प्रतिशत जनता कृषिमा निर्भर भए पनि सोअनुसारको बजेट नबाँडिएको कारण कृषि क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको बताए । मल, बीउबिजन, औषधिको अभाव र बजेटको न्यून उपलब्धताका कारण किसान समस्यामा परेको उनको भनाइ थियो ।
मन्त्री क्षत्रीको गणतन्त्र पक्षमा धारणा
कार्यक्रममा सहभागी कृषि तथा सहकारी मन्त्री जनार्दनसिंह क्षत्रीले गणतन्त्रले विकासको गति बढाएको दाबी गरे । उनले गाउँगाउँमा सडक, विद्यालय, स्वास्थ्य चौकी र सञ्चार सेवाको विस्तार भएको उल्लेख गर्दै राजतन्त्रकालमा जनतालाई अभिव्यक्ति स्वतन्त्रता नभएको स्मरण गराए ।
अन्य वक्ताहरूको सहभागिता
पाेखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न चौहानको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, रहबर अन्सारी, बिना शर्मा, पूर्व नगरप्रमुख दीपनारायण रौनियार, वडा अध्यक्ष लक्ष्मण साह कानू, उपप्रमुख रूबी ठाकुर, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंह, पन्नालाल पटेल, एमाले नगर अध्यक्ष विन्ध्याचल ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण भगवान कुर्मीले गरेका थिए ।
सम्बन्धीत समाचार
पोखरिया नगरपालिकामा अख्तियारको छापा, विभिन्न योजना र खरिद प्रक्रियामा अनियमितता
बहुदरमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव अख्तियारको नियन्त्रणमा
अख्तियारद्वारा पाेखरिया नगरपालिकाका जिन्सी तथा प्रशासन प्रमुख संदिप साह पक्राउ
पोखरिया नगरपालिकामा प्रशासकिय अधिकृतकाे पुन सरूवा, अवैध भुक्तानी गर्न नमान्दा टिक्न दिदैनन् मेयर
समाचार लेखेको विरुद्धमा पत्रकारका बाबुमाथि आक्रमण, प्रशासकीय अधिकृत अजय श्रीवास्तव सहित दुईजना पक्राउ, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
फेसबुक स्टाटस र समाचार देखि अदालतसम्म : पत्रकार र अधिकृतबीचको कानुनी द्वन्द्व, दुवैकाे आ–आफ्नै दाबी
भिडियाे सामाग्री