लुम्बिनी प्रदेशकी प्रदेश सांसद तथा जनमत पार्टीकी नेतृ सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
रायमाझीमाथि बैंकिङ कसुर अन्तर्गत चेक बाउन्सको मुद्दा परेको हो । पर्सा जिल्ला अदालतले १६ जेठमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्दै बर्दिया प्रहरीले उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन निर्देशन दिएको हो । तर, बर्दिया जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म रायमाझीलाई पक्राउ गरेको छैन् ।
सांसद रायमाझीविरुद्ध जनमत पार्टीकै अर्की नेतृ आशा कुमारी चौहानले पर्सा प्रहरीमा बैंकिङ कसुरको उजुरी दिएकी थिइन् । चौहानका अनुसार, रायमाझीले २ लाख ७५ हजार रुपैयाँ सापटी लिएकी थिइन्, तर समयमै फिर्ता नगरेपछि पटक–पटकको अनुरोधपछि एभरेष्ट बैंकको चेक दिएकी थिइन्, जसमा रकम पर्याप्त नभएकाले चेक बाउन्स भएको हो ।
सांसद रायमाझीको राजनीतिक यात्रा उतारचढावपूर्ण छ । उनी यसअघि जनता समाजवादी पार्टी (जसपा) बाट प्रदेश सांसद निर्वाचित भएकी थिइन् । तत्पश्चात नेकपा एमालेसँग निकट सम्बन्ध बनाउँदै तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार विकास राज्य मन्त्री पनि बनेकी थिइन् ।
पछि, नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री कुलप्रसाद केसीको सरकारमा उनी कृषि मन्त्रीको जिम्मेवारीमा पुगिन् । पछिल्लो समय जनमत पार्टीमा आबद्ध भएर प्रदेश राजनीतिमा क्रियाशील रहेकी छिन् ।