नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिबाट अवकाश (रिटायर) हुने संकेत दिएका छन् ।
शुक्रबार आयोजित प्रजातान्त्रिक आन्दोलनकी योद्धा गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै देउवाले आफू राजनीतिबाट बिदा लिँदै गर्दा पार्टीलाई एक बनाएर जान चाहेको बताएका हुन् । ‘म रिटायर्ड हुन लाग्या छु, यो पार्टीलाई एक बनाउने इच्छा छ,’ देउवाले भने, ‘हाम्रो पार्टीको रोग नै यही हो — टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हामी एकजुट हुने हो भने एक्लै बहुमत ल्याउन सक्छौं ।’
योसँगै देउवाले पार्टीमा अन्तर्घातको प्रवृत्तिले कांग्रेसलाई कमजोर बनाएको टिप्पणी गरे । उनका अनुसार एकअर्काविरुद्ध काम गर्ने प्रवृत्तिले पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेको हो । देउवाको उक्त अभिव्यक्ति सार्वजनिक रूपमा उनले पहिलो पटक आफू राजनीतिबाट रिटायर हुने संकेत दिएका अवसरका रूपमा आएको हो । पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले केही समयदेखि देउवालाई नेतृत्व हस्तान्तरण गरी अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरिरहेका थिए ।
त्यस्तै, देउवाले पार्टीको १५औँ महाधिवेशन समयमै हुने दाबी पनि गरे । पार्टीको संस्थापन इतर शेखर कोइराला समूहले महाधिवेशन समयमै नहुने आशंका व्यक्त गरिरहेका बेला देउवाले भरतपुरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिंदै भने, ‘महाधिवेशन समयमा हुँदैन भन्नु झुटो कुराहरू हुन् ।’
यद्यपि कांग्रेसको विधानअनुसार सभापतिका रूपमा तेस्रो कार्यकालमा निर्वाचित हुन नपाउने देउवालाई महाधिवेशन सारेर अनुकूल रणनीति बनाउने आरोप पनि लाग्दै आएको छ । शेखर कोइराला समूहले यसबारे आलोचना गर्दै आएको छ तर देउवाले यसअघि त्यसबारे खुलस्त बोल्न चाहेका थिएनन् ।
अब भने देउवाको यो अभिव्यक्तिले नेपाली कांग्रेसको भावी नेतृत्व र महाधिवेशनको तयारीलाई नयाँ मोड दिएको छ ।