प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपाल–भारतबीच लामो समयदेखि विवादित रहँदै आएको सीमा समस्याबारे ठोस छलफल हुन नसकेको देखिएको छ । नेपालको सार्वभौमिकतासँग जोडिएका कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा दुई प्रधानमन्त्रीबीच छलफल नभएको भारतीय पक्षले जनाएको छ ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीमा भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा सीमा समस्या समाधानका लागि दुवै देशका परराष्ट्र सचिवलाई काम अघि बढाउन निर्देशन दिइएको उल्लेख छ ।
विज्ञप्तिमा सीमा स्तम्भको मर्मतसम्भार तथा पुनःस्थापनासम्बन्धी संयुक्त स्थलगत कार्यमा भइरहेको प्रगतिप्रति दुवै नेताले सन्तुष्टि व्यक्त गरेको र बाँकी रहेका सीमा समस्यामा काम गर्न परराष्ट्र सचिवहरूलाई निर्देशन दिएको उल्लेख गरिएको छ ।
तर, संयुक्त विज्ञप्तिमा कालापानी, लिपुलेक, लिम्पियाधुरा तथा सुस्तालगायतका विवादित क्षेत्रको नाम स्पष्ट रूपमा उल्लेख गरिएको छैन। यसले नेपालको सार्वभौमिकतासँग जोडिएको सीमा विवाद उच्चस्तरीय वार्तामा प्राथमिकतामा नपरेको भन्दै प्रश्न उठाएको छ ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि दुई प्रधानमन्त्रीबीचको वार्तामा लिपुलेकको विषय नउठेको स्पष्ट पारेका छन् । सोमबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले भारत र चीनबीच लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने विषयमा समेत छलफल नभएको जानकारी दिएका हुन् ।
नेपालको आपत्तिका बाबजुद भारत र चीनले लिपुलेक नाकाबाट व्यापार अघि बढाउने विषयमा प्रधानमन्त्रीस्तरीय वार्तामा छलफल भयो कि भएन भन्ने सञ्चारकर्मीको प्रश्नमा मिस्रीले उक्त विषय वार्तामा नउठेको बताएका थिए।
उनले लिपुलेकलाई भारत र चीनबीचको व्यापारिक नाकाका रूपमा व्याख्या गर्दै लामो समयदेखि उक्त नाका दुई देशबीच व्यापार तथा अन्य गतिविधिका लागि प्रयोग हुँदै आएको दाबी गरेका थिए ।
सीमा विवाद समाधानको जिम्मा परराष्ट्र सचिवलाई
दुई देशका प्रधानमन्त्रीबीच सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई जिम्मेवारी दिने सहमति भए पनि विवादित क्षेत्रको नाम, समाधानको प्रक्रिया र समयसीमाबारे संयुक्त विज्ञप्तिमा स्पष्ट उल्लेख छैन ।
परराष्ट्र मामिलाका जानकारहरूले राजनीतिक नेतृत्वबीच उच्चस्तरीय समझदारी र स्पष्ट प्रतिबद्धता आवश्यक रहेको औँल्याउँदै कर्मचारीस्तरमा मात्र जिम्मेवारी सीमित गर्दा सीमा विवाद समाधानको प्रक्रिया प्रभावकारी नहुन सक्ने बताएका छन् ।
यसैबीच, प्रधानमन्त्री शाहले विगतमा लिपुलेक नेपालको भूमि भएको विषयमा सार्वजनिक रूपमा कडा धारणा राख्दै आएका थिए । काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा लिपुलेक नेपालको भूमि भएको विषय उठाउन आग्रह गरेका थिए ।
भारत र चीनबीच लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने सहमतिप्रति आपत्ति जनाउँदै उनले नेपालको सार्वभौमिकताको विषयमा स्पष्ट रूपमा नेपालको दाबी राख्नुपर्ने धारणा सार्वजनिक गरेका थिए।
तर, अहिले प्रधानमन्त्रीकै हैसियतमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री मोदीसँगको वार्तामा लिपुलेकको विषय प्रवेश नगरेको भारतीय विदेश सचिवको भनाइले उनको विगतको अडान र वर्तमान कूटनीतिक संवादबीच तुलना हुन थालेको छ ।
वर्षौंदेखि कायम छ सीमा विवाद
नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद लामो समयदेखि कायम छ । सन् २०१९ मा भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै यी क्षेत्रलाई आफ्नो भूभागमा समेटेपछि विवाद थप चर्किएको थियो ।
त्यसको प्रतिवादस्वरूप नेपालले सन् २०२० मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।
नेपालले यी क्षेत्र आफ्नो अभिन्न भूभाग भएको दाबी गर्दै आएको छ भने भारतले आफ्नो उत्तराखण्ड राज्यको भूभाग भएको दाबी गर्दै आएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दृष्टिपत्रमा भने पानीका स्रोत, ऊर्जा, व्यापार तथा वाणिज्य र सीमालगायतका बाँकी विषय आपसी छलफल र संवादमार्फत समाधान गर्ने प्रतिबद्धता दोहोर्याइएको छ ।
यद्यपि, सीमा विवाद समाधानका लागि संवाद कहिले र कुन संयन्त्रमार्फत अघि बढाउने भन्ने विषयमा स्पष्ट कार्यतालिका सार्वजनिक गरिएको छैन ।
यसले नेपाल–भारतबीचको सम्बन्ध सुधार र आर्थिक सहकार्यका विषयमा समझदारी भए पनि नेपालको सार्वभौमिकता र राष्ट्रिय हितसँग जोडिएको सीमा विवाद समाधानको विषय अझै अनिश्चित रहेको देखाएको छ ।