बालश्रम पूर्ण रूपमा निषेध गर्ने कि उमेर र कामको प्रकृतिका आधारमा नियमन गर्ने भन्ने बहसबीच सरकारले १३ वर्ष उमेर पुगेका बालबालिकालाई निश्चित सर्तमा हल्का काम गर्न दिने प्रस्तावको बचाउ गरेको छ ।
बालश्रम निषेध तथा नियमनसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा सरकारले नेपालको आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थालाई ध्यानमा राखेर उमेर र कामको सीमा निर्धारण गरिएको स्पष्ट पारेको हो ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालमा अझै पनि करिब ११ लाख बालबालिका बालश्रममा संलग्न रहेको तथ्यांक रहेको उल्लेख गर्दै उनीहरूको संख्या घटाउने उद्देश्यले विधेयक ल्याइएको बताए ।
उनका अनुसार बालश्रम पूर्ण रूपमा निषेध गर्ने कानुन बनाउँदैमा समस्या समाधान हुँदैन । गरिबी, पारिवारिक अवस्था, अभिभावकविहीनता र राज्यको संरक्षण क्षमतालाई समेत ध्यानमा राखेर कार्यान्वयन गर्न सकिने कानुन आवश्यक रहेको उनको तर्क छ ।
मन्त्री यादवले १३ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई घरमा अभिभावकलाई सामान्य सहयोग गर्ने प्रकृतिका हल्का काममा मात्र संलग्न गराउने प्रस्ताव गरिएको जानकारी दिए । त्यस्ता कामले बालबालिकाको शिक्षा, स्वास्थ्य, शारीरिक तथा मानसिक विकासमा असर पार्न नहुने र शोषणको जोखिमबाट सुरक्षित राख्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि पनि कामको प्रकृति र सीमा छुट्याइएको उनले बताए । कुन उमेर समूहका बालबालिकाले कस्तो काम गर्न पाउने भन्ने व्यवस्था विधेयकको अनुसूचीमा समावेश गरिएको छ ।
मन्त्री यादवले बालश्रम र सामान्य कामलाई एउटै रूपमा हेर्न नहुने उल्लेख गर्दै लामो समय काममा लगाउने, स्वास्थ्यमा असर पार्ने, मानसिक दबाब सिर्जना गर्ने तथा उमेरअनुसार तोकिएको सीमा उल्लंघन गर्ने अवस्थालाई शोषणकारी श्रमका रूपमा लिनुपर्ने बताए ।
यद्यपि, विधेयकमा प्रस्ताव गरिएको व्यवस्थाबारे छलफलका क्रममा सांसदहरूले बालश्रम नियन्त्रणका लागि उमेर र कामको सीमा निर्धारण मात्र पर्याप्त नहुने भन्दै उद्धार, पुनर्स्थापना, शिक्षा र परिवारको आर्थिक सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
सांसद प्रभा कार्कीले बालबालिकालाई श्रमबाट उद्धार गरेपछि राज्यले तत्काल संरक्षण र सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने बताइन् । उजुरी गरेकै कारण रोजगारदाताबाट प्रतिशोध वा हिंसाको जोखिम हुन सक्ने भएकाले उद्धार गरिएका बालबालिकाको सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने उनको भनाइ छ ।
उनले बालश्रमको प्रमुख कारण गरिबी भएकाले रोजगारदातालाई कारबाही गर्ने व्यवस्थासँगै विपन्न परिवारलाई सामाजिक सुरक्षा, अभिभावकलाई सीप तथा रोजगारी र लक्षित आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था पनि कानुनमा समेट्नुपर्ने सुझाव दिइन् ।
सांसद कालिबहादुर सहकारीले विद्यालय, स्वास्थ्य संस्था तथा होटललगायत क्षेत्रमा कम उमेरका बालबालिकासमेत काम गरिरहेको वास्तविकतालाई ध्यानमा राखेर कामको समय, आराम, स्वास्थ्य, पोषण र शिक्षामा असर नपर्ने स्पष्ट मापदण्ड बनाउनुपर्ने बताए ।
त्यस्तै, सांसद प्रकाश पाठकले शरणार्थी तथा सीमापारबाट आएका बालबालिकाको श्रमसम्बन्धी विषयलाई पनि विधेयकमा समेट्नुपर्ने सुझाव दिए । बालश्रमसम्बन्धी मुद्दा दायर गर्ने समयसीमा ६ महिनाबाट बढाएर बालबालिकासम्बन्धी ऐनअनुसार एक वर्ष बनाउनुपर्ने उनको माग थियो ।
सांसद गङ्गादेवी श्रेष्ठले बालश्रम अहिले सार्वजनिक स्थानमा मात्र नभई लुकेर हुने श्रमका रूपमा समेत बढिरहेको भन्दै घरेलु श्रम र मनोरञ्जन क्षेत्रमा बालबालिकाको संलग्नतालाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने बताइन् ।
सांसद कृपाराम रानाले विधेयक संविधान र अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुसार हुनुपर्नेमा जोड दिए । संविधानको धारा ३९ ले सुनिश्चित गरेका बालबालिकाका अधिकार तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का महासन्धि १३८ र १८२ को मर्मअनुसार विधेयकका प्रावधान समीक्षा गर्नुपर्ने उनको सुझाव थियो ।
त्यसैगरी, सांसद सोम शर्माले बालश्रमको समस्या गरिबी, अभिभावकीय संरक्षणको अभाव र परिवारको कमजोर आर्थिक अवस्थासँग जोडिएको भन्दै कानुनसँगै परिवारलाई आर्थिक सुरक्षा र रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने बताए ।
समिति सभापति रहबर अन्सारीले विधेयकले बालबालिकालाई काममा लगाउने रोजगारदातालाई आर्थिक तथा कानुनी रूपमा जिम्मेवार बनाउने उद्देश्य राखेको बताए । बालबालिकाको उमेर, कामको प्रकृति, समय र श्रमको भार स्पष्ट निर्धारण गर्दै रोजगारदातालाई जिम्मेवार बनाउने व्यवस्था प्रस्ताव गरिएको उनको भनाइ छ ।
विधेयकमाथि दफावार छलफलका क्रममा सांसदहरूले दिएका सुझाव तथा संशोधनलाई समेटेर अघि बढाइने सभापति अन्सारीले बताएका छन् ।