प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसद्को प्रतिनिधिसभामा सम्बोधन गर्दै छन् । प्रतिनिधिसभाको शनिबार बिहान ११ बजेका लागि तोकिएको बैठकमा प्रधानमन्त्री ओलीले विदेश भ्रमण तथा समसामयिक विषयमा संसद्लाई जानकारी गराउने कार्यक्रम रहेको छ ।
संसद्मा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिँदै भने, “आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्रीज्यूबाट आफ्नो विदेश भ्रमणलगायत समसामयिक विषयमा सम्बोधन गर्नुहुने कार्यसूची रहेको जानकारी गराउन चाहन्छु ।”
प्रधानमन्त्री ओली आजै स्पेनको सेभिल्ला प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनी त्यहाँ आयोजना हुने 'चौथो अन्तर्राष्ट्रिय सम्मेलन अन फाइनान्सिङ फर डेभलपमेन्ट’ मा भाग लिन जाने तयारीमा छन् । उक्त सम्मेलनमा विकासका लागि वित्तीय सहकार्यसम्बन्धी विषयमा विभिन्न मुलुकका नेताहरूबीच विचारविमर्श हुने छ ।
प्रधानमन्त्रीको यो भ्रमणलाई सरकार पक्षले विकास सहकार्यमा नेपालका लागि अवसरका रूपमा लिएको छ भने विपक्षी दलहरूले आन्तरिक राजनीतिक अस्थिरता कायमै रहँदा प्रधानमन्त्रीको भ्रमण समय सान्दर्भिक नभएको टिप्पणी गरेका छन् ।