नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई पक्राउ गर्न आउने हो भने खाली हात नभई हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन् । सरकारले प्रतिपक्षी दलको आवाज दबाउन खोजे सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत उनले दिएका छन् ।
पार्टी कार्यालयमा आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारका कुनै पनि व्यक्तिले आफूहरूलाई तर्साउन खोजेको भए गलत पार्टी र गलत व्यक्ति छानेको बताए ।
सरकारका कामकारबाहीमाथि प्रश्न उठाउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आन्तरिक समस्यामा कांग्रेस नपस्ने स्पष्ट पारे । प्रतिपक्षी दलहरूको गठबन्धन बनाउने पक्षमा पनि कांग्रेस नरहेको उनको भनाइ छ ।
‘जहाँ सरकारलाई साथ दिनुपर्छ, त्यहाँ दिन्छौँ । प्रतिवाद गर्नुपर्ने ठाउँमा प्रतिवाद गर्छौं,’ थापाले भने, ‘हामी प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्छौं । सरकार र नागरिकबीचका ग्यापहरूमा हामीले झकझकाउने काम गर्छौं ।’
थापाले सुकुम्बासी व्यवस्थापनको विषयलाई लिएर पनि सरकारसँग प्रश्न गरेका छन् । अदालतको रोक हुँदाहुँदै घरबार भएका मानिसलाई उठिबास लगाइएको भन्दै उनले त्यसको समाधान खोइ भनेर प्रश्न गरे । सरकारले अध्यादेश ल्याए पनि त्यसलाई प्रतिस्थापन गर्ने विधेयक किन नल्याएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
भदौ २३ र २४ गतेका घटनासम्बन्धी अध्यादेशबारे पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो ।
सरकारले आफ्ना निकट व्यक्ति वा पार्टीका सदस्यलाई संरक्षण गर्न नहुने थापाले बताए । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि आफूहरूले निकट व्यक्तिका कारण कसैले उन्मुक्ति पाउन नहुने धारणा राखेको स्मरण गर्दै उनले अहिले प्रधानमन्त्री बालेन शाहसँग निकट वा रास्वपामा आबद्ध भएकै आधारमा कसैले छुट पाउन नहुने बताए ।
‘सरकारलाई निजी कम्पनीजस्तो चलाउन थालियो भने हामी बोल्छौँ । त्यसो हुन दिँदैनौँ,’ उनले भने, ‘सरकार सरकारजस्तो भएर चल्नुपर्छ, प्रतिपक्ष प्रतिपक्षीजस्तो । हामीले त्यही भूमिका निर्वाह गरिरहेका छौँ ।’
यसैगरी, निवर्तमान सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति पनि थापाले असन्तुष्टि जनाएका छन् । देउवाको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान रहेको उल्लेख गर्दै उनले आफ्नो राजनीतिक हैसियत र मर्यादा कायम राख्न देउवालाई आग्रह गरे ।
‘देउवा दाइ निवर्तमान सभापति मात्रै होइन, प्रजातान्त्रिक लडाइँमा उहाँको ठूलो योगदान छ । उहाँसँग प्रतिस्पर्धा गरेर आएको हुँ । उहाँ अग्लो ठाउँमा बस्नुस् भन्ने मेरो चाहना हो,’ थापाले भने ।
जेनजी आन्दोलनका क्रममा देउवाको घर गगन थापाले जलाएको भन्ने भिडियो सामाजिक सञ्जालमा भाइरल भएको प्रसंग उल्लेख गर्दै उनले देउवाले समेत टाउको हल्लाएर त्यसलाई समर्थन गरेको देख्दा आफूलाई चिन्ता लागेको बताए ।
विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न आफू तयार रहेको पनि थापाले बताएका छन् । महाधिवेशनमा छुटेका नेताहरूलाई सँगै लिएर अघि बढ्न छलफल गर्न आफू तयार रहेको उनको भनाइ छ ।
कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अदालतले निस्सा दिएको विषयमा केही नेता अलमलमा रहेको उल्लेख गर्दै थापाले संसद् पुनःस्थापनासम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन रहेको बताए ।
आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचन आफ्नै नेतृत्वमा हुने दाबी गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरेका छन् ।