माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरूमा अब के गर्ने ? कुन विषय पढ्ने ? जस्ता जिज्ञासा देखिन थालेका छन् ।
विद्यार्थीहरूसँगै अभिभावकहरू पनि उत्तिकै चिन्तित छन् । धेरैले एसईईपछि प्राविधिक शिक्षा (CTEVT) का विषय पढाउने कि प्लस टु अध्ययन गर्ने भन्ने दुविधामा छन् ।
एसईईपछि आईटीमा के पढ्न सकिन्छ?
सबैभन्दा पहिले विद्यार्थीले आफ्नो रुचि र क्षमता अनुसार विषय छान्नुपर्छ। अरूले भनेको भरमा मात्र वा हल्ला भएर विषय छनौट गर्नु ठीक हुँदैन। आईटी राम्रो भनी रुचि नभएको विषयमा नजाने, बरु आफूलाई मन पर्ने विषय रोज्नुपर्छ ।
यदि आईटीमा रुचि छ र स्नातक तहमा आईटीसँग सम्बन्धित कोर्स पढ्न चाहन्छन् भने प्लस टुमा विज्ञान संकाय, व्यवस्थापन संकाय वा मानवीय संकायका कोर्सहरू छनोट गर्न सकिन्छ । यी कोर्सहरूले स्नातक तहमा आईटी पढ्ने मार्ग खोल्छन् । हाल विद्यालय तहबाट कम्प्युटर विषय पढाइ भैरहेको छ, जसले आईटीमा उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउँछ। प्लस टुमा पनि कम्प्युटर विषय छनौट गर्न सकिन्छ, जसले स्नातकमा सजिलो बनाउँछ ।
नेपालमा उपलब्ध आईटी सम्बन्धी उच्च शिक्षाका कोर्सहरू
काठमाडौं, त्रिभुवन, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम, सुदूरपश्चिम लगायतका विश्वविद्यालयहरूले बीएससी सीएसआईटी, बीआईटी, कम्प्युटर इन्जिनियरिङ, साइबर सेक्युरिटी, एआई, बीसीए लगायतका कोर्स सञ्चालन गरिरहेका छन् । साथै, विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर पनि नेपालमा विभिन्न आईटी कोर्सहरू सञ्चालनमा छन् ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT)
CTEVT ले एसईईपछि डिप्लोमा (३ वर्षे) र प्रि-डिप्लोमा (१८ देखि २४ महिने) कोर्स सञ्चालन गर्दछ । CTEVT बाट सूचना प्रविधि, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, अटोमोबाइल, बायोमेडिकल जस्ता विषयहरूमा अध्ययन गर्न पाइन्छ। साथै, शर्ट टर्म कोर्सहरू पनि देशभरका १,७७५ तालिम प्रदायक संस्थाहरूबाट सञ्चालन भइरहेको छ।
CTEVT को नेटवर्कमा ६६ आंगिक कलेज, ५५ साझेदारी शिक्षालय, ६२९ सामुदायिक विद्यालय र ४२२ निजी कलेजहरू छन् । CTEVT बाट पढ्दा रोजगार पाउने सम्भावना बढी हुन्छ ।
आईटी क्षेत्रमा डिग्रीभन्दा पनि सीप महत्त्वपूर्ण
आईटी यस्तो क्षेत्र हो जहाँ तपाईंसँग सीप भए पढ्दै कमाउँदै गर्न सकिन्छ । डिग्रीभन्दा पनि प्राविधिक दक्षता र अनुभव बढी मूल्यवान् हुन्छ ।