निर्माण सामग्रीको मूल्यमा केही राहत मिलेको छ ।
सिमेन्ट र डन्डीको भाउ उद्योगीले घटाएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सिमेन्टको भाउ प्रति बोरा ५० देखि १ सय रुपैयाँसम्म र डन्डीको भाउ प्रतिकिलो ५ रुपैयाँसम्म घटाइएको छ ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार पछिल्लो समय निर्माण क्षेत्रको मागमा कमी आएको, उद्योगमा लोडसेडिङ घटेको र उत्पादन लागतमा कमी आएपछि उद्योगीहरूले मूल्य समायोजन गरेका हुन् । “अहिले उद्योगमा लोडसेडिङ कम भएकोले उत्पादन खर्च घटेको छ, त्यसैले सिमेन्ट र डन्डीको भाउ घटाइएको हो,” उनले जानकारी दिए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पनि माग घटेका कारण मूल्य घटाइएको पुष्टि गरे । उनका अनुसार हाल ओपीसी सिमेन्टको मूल्य ६ सयदेखि ७ सय रुपैयाँसम्म र डन्डीको भाउ प्रतिकिलो ८२ देखि ८५ रुपैयाँसम्म रहेको छ । यसअघि डन्डी प्रतिकिलो ९६ रुपैयाँसम्म पुगेको थियो ।
अध्यक्ष सिंहका अनुसार उद्योगीहरूले अघिल्लो समय लोडसेडिङका कारण उत्पादन लागत बढेको भन्दै ओपीसी सिमेन्ट प्रतिबोरा ६७५ देखि ८०० रुपैयाँसम्म र पीपीसी सिमेन्ट ५५० देखि ६७५ रुपैयाँसम्म पुर्याएका थिए ।
बर्खा याममा निर्माण कार्य स्वाभाविक रूपमा घट्ने भएकाले माग पनि घट्छ, जसका कारण निर्माण सामग्रीको मूल्य घट्ने चलन रहेको छ । मौसममा सुधार आएपछि पुनः निर्माण कार्य बढ्ने र मूल्यमा उतारचढाव आउन सक्ने विशेषज्ञहरू बताउँछन् ।