अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एक ठुलो हवाई दुर्घटना नजिकबाट टरेकाे छ ।
मियामीतर्फ उडान भरिरहेको अमेरिकन एयरलाइन्सको फ्लाइट नम्बर 3023 ले टेकअफ गर्नु अघि नै प्राविधिक समस्या देखिएपछि आकस्मिक रूपमा उडान स्थगन गरिएको थियो ।
टायरमा खराबी, पछाडि भागमा आगलागी
बोइङ ७३७ म्याक्स ८ मोडलको सो विमानको ल्यान्डिङ गियर फेल भएपछि टेकअफ रोकिनुपरेको हो । सोही क्रममा विमानको पछिल्लो भागमा आगलागी समेत भएको पुष्टि गरिएको छ । विमानमा १७३ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । अमेरिकी समय अनुसार दिउँसो २:४५ बजे र भारतीय समयअनुसार राति २:१५ बजे यो घटना घटेको थियो ।
इमरजेन्सी स्लाइडबाट यात्रुहरूलाई सुरक्षित बाहिर निकालियो
घटनापछि विमानभित्र धुवाँको मुस्लो देखिएपछि तत्कालै सबै यात्रुहरूलाई आपतकालीन स्लाइडको सहायताले सुरक्षित रूपमा बाहिर निकालिएको थियो । आगो तत्कालै नियन्त्रणमा लिइएको र कुनै मानवीय क्षति नभएको एयरलाइन्सले जानकारी दिएको छ ।
FAA र एयरलाइन्सले सुरु गरे अनुसन्धान
घटनाको सम्बन्धमा अमेरिकी संघीय उड्डयन प्रशासन (FAA) र सम्बन्धित एयरलाइन्सले संयुक्त रूपमा अनुसन्धान सुरु गरेका छन् । प्रारम्भिक अनुसन्धान अनुसार, विमानको टायरमा प्राविधिक खराबी आएको पुष्टि गरिएको छ । त्यसैले सो विमानलाई तत्काल सेवा बाहिर राखिएको छ ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल
विमानबाट धुवाँ निस्किएको, यात्रुहरू भागाभाग गर्दै बाहिर निस्किएको दृश्य समेटिएको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेका छन् । प्रयोगकर्ताहरूले पाइलट र एयरपोर्ट टिमको तत्परताको प्रशंसा गर्दै समयमै समस्या पत्ता लागेकोले ठूलो जनधनको क्षति हुनबाट जोगिएको बताएका छन् ।
यात्रुहरूलाई नयाँ विमानमार्फत गन्तव्यतर्फ पठाइयो
प्राविधिक समस्याका कारण प्रभावित यात्रुहरूलाई मियामी पठाउन अर्को विमानको व्यवस्था गरिएको एयरलाइन्सले जनाएको छ । यद्यपि सो घटनाले केही अन्य उडानहरू प्रभावित भए पनि हाल डेनभर विमानस्थलको सञ्चालन पुनः सामान्य अवस्थामा फर्किएको छ ।