काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई लिएर फैलिएका अफवाह निराधार रहेको स्पष्ट पारेका छन् ।
शुक्रबार मन्त्रालयमा आयोजना गरिएको एक वर्षे कार्यविवरण सार्वजनिक कार्यक्रममा बोल्दै उनले एनपीएलको दोस्रो संस्करण नरोकिने बताउँदै प्रतियोगिता कानुनी ढाँचामै सम्पन्न गरिने बताएका हुन् ।
"प्रतियोगिता नै रोक्ने खोजिएको अर्थमा गरिएको प्रचार गलत हो। यस्तो प्रचार गर्नेहरू स्वयं एनपीएलविरोधी हुन्," मन्त्री चौधरीले स्पष्ट पारे ।
उनले खेलकुद, आर्थिक गतिविधि तथा खरिदसम्बन्धी ऐनको पूर्ण पालना गरी मात्र प्रतियोगिता सञ्चालन हुनुपर्नेमा जोड दिँदै, पहिलो संस्करणका विवादहरूको छानबिन प्रक्रिया अघि बढ्ने जानकारी पनि दिए ।
मन्त्री चौधरीले एनपीएलको पहिलो संस्करणमा देखिएको आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकाले त्यसका आधारमा छानबिन समिति गठन भइसकेको बताए ।
"क्रिकेट संघले छानबिन समितिका पत्रहरूको जवाफ नदिएको र आवश्यक कागजात नपठाएकोले प्रक्रिया अघि बढ्न सकेको छैन," उनले भने ।
उनका अनुसार, अब छानबिनको जिम्मा अख्तियारलाई दिने कि मन्त्रालयले उच्चस्तरीय छानबिन समिति बनाउने भन्नेबारे छलफल भइरहेको छ ।
"कानुन अनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्छु," मन्त्री चौधरीले भने ।
उनले कुनै पनि हालतमा एनपीएलको दोस्रो संस्करण भव्य र सभ्य रुपमा सम्पन्न गरिने प्रतिबद्धता जनाए ।
"कुनै पनि सर्तमा, कुनै पनि हालतमा एनपीएल दोस्रो संस्करण भव्य र सभ्य गर्न आदेश र निर्देशन दिन्छु । छानबिनका कुराहरू भइराख्छ, भइराखेको छ र हुन्छ भन्ने तपाईँहरुलाई विश्वास दिलाउन चाहन्छु," मन्त्री चौधरीले भने ।