काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक उपाधि उचालेको हो ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गरेको थियो । सुदूरपश्चिमको जितमा जर्ज मुन्सीले आक्रामक ब्याटिङ गर्दै अविजित १२५ रन बनाए । उनले ५४ बलमा शतकीय पारी खेलेका थिए । त्यस्तै, विनोद भण्डारीले अविजित ३० रनको योगदान दिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक अविजित ३९ रन बनाए । कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अली सेखले २४ तथा डिआर्ची शर्टले २१ रन जोडे ।
सुदूरपश्चिमका बलर स्कट कुगेलाइनले दुई विकेट लिए भने हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे ।
यसअघि लगातार दुई सिजन फाइनलमा पुगेर उपाधिबाट वञ्चित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा च्याम्पियन बन्न सफल भएको हो । यससँगै उसले अघिल्लो सिजनको फाइनलमा लुम्बिनीसँग बेहोरेको हारको बदला पनि लिएको छ ।
लुम्बिनी लायन्स भने लगातार दोस्रो पटक फाइनलमा पुगेर यसपटक उपविजेतामा सीमित भएको छ ।