नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपालको प्रतियोगितामा यात्रा समाप्त भएको हो।
पाकिस्तान शाहीन्सले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो। नेपालको ब्याटिङमा ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए । उनले ५० बलको सामना गर्दै अन्तिम विकेटका रूपमा आफ्नो विकेट गुमाए । मयनबाहेक बसिर अहमदले ११ रन बनाए। नेपाली टोलीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ६ जना ब्याटर शून्य रनमै आउट भए । पाकिस्तान शाहीन्सका लागि मोहम्मद हस्नेन र सुफ्या मोकिमले समान ३–३ विकेट लिए। त्यस्तै, इमरान रान्धवाले २ तथा माज सदाकतले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले ४२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। पाकिस्तानका रोहेल नाजिरले अविजित ६४ रन बनाए। उनले ८३ बलको सामना गरेका थिए। हसन नवाजले २८, अहमद दनियालले १६, हेदर अलीले १५ तथा माज सदाकत र अब्दुल समदले समान १३ रनको योगदान दिए ।
नेपालका लागि रासिद खानले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा ३९ रन खर्चेर ५ विकेट लिए। यो उनको लिस्ट ए क्रिकेट करियरको पहिलो पाँच विकेट प्रदर्शन हो। लिस्ट ए क्रिकेटमा डेब्यू गरेका अभिशेष गौतमले २ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १–१ विकेट हात पारे ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भने यूएईलाई पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो। तर, अन्तिम खेलमा पाकिस्तानसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिन बाध्य भयो ।
समूह ‘बी’ मा तीनवटै खेल जितेको पाकिस्तान शाहीन्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। भारत पनि समूहको दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।