रौतहट | रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित आधारभूत विद्यालय मेवामा बिहीबार राति अज्ञात समूहले चोरी गरेको छ ।
विद्यालयको स्टोर र गेटको ताला फोडेर चोरी गर्ने क्रममा ग्यास चुल्हो, सिलिन्डर, तेल–मसला, बाल्टिन, कुर्सी, इन्टरनेट राउटर, नेपाली शब्दकोश र विद्यार्थीहरूले हात–खुट्टा धुने ५० भन्दा बढी साबुनलगायतका सामग्री हराएका छन् ।
विद्यालयका प्रधानाध्यापक रामजन्म महतो कहारका अनुसार चोरी भएका सामानहरू प्रायः दिवा–खाजाका लागि ल्याइएको सामग्री थिए । अस्थायी प्रहरी चौकी मेवाका अनुसार चोरीमा प्रयोग भएको ताला तोडिएको पुष्टि गरिएको छ। शुक्रबार बिहान विद्यालयमा सफाइका लागि पुगेका कर्मचारी राजेश पटेलले ताला फोडिएको देखेपछि चोरी भएको थाहा पाएका थिए ।
अहिलेसम्म चोरीमा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन र खोजी कार्य जारी छ, अस्थायी प्रहरी चौकी मेवाका असई संजय रामले जानकारी दिनुभयो ।
प्रधानाध्यापक महतोका अनुसार ग्यास चुल्हो, खाजाका लागि ल्याइएको खाद्यान्नदेखि इन्टरनेट राउटरसम्म चोरी हुनु सामान्य घटना होइन र यसले विद्यालयको शैक्षिक क्रियाकलापमा प्रत्यक्ष असर पार्ने देखिएको छ।
भिडियाे सामाग्री