वीरगञ्जमा फैलिएको हैजा र झाडापखालाबारे गुनासो राख्दै खानेपानी, सरसफाइ तथा सिँचाइ मन्त्री प्रदीप यादवसँग जवाफदेहिता मागेकी एक युवती उल्टै प्रहरी हिरासतमा परेकी छिन् ।
कलैया उपमहानगरपालिका–२६, सिस्वा महेशपुरकी किरण साहलाई शनिबार मध्यराति अस्पतालमै कुरुवा बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । किरणविरुद्ध मन्त्री यादवको सचिवालयबाट उजुरी परेपछि पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी किशोर लम्सालका अनुसार उनको विरुद्ध विद्युतीय अपराध, संघीय सांसदलाई धम्की र झुटा समाचार/अफवाह फैलाउने गरी तीन मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
हैजाबाट प्रभावित परिवार, आक्रोशित प्रश्न
किरणका बुबा–आमा, बहिनी र भतिजीलाई झाडापखाला/हैजाका कारण विभिन्न अस्पतालमा भर्ना गरिएको थियो । भतिजीमा त हैजा पुष्टि नै भएको थियो । यही कारण आक्रोशित बनेकी किरणले मन्त्रीलाई पटक–पटक फोन गर्दा जवाफ नपाएपछि सार्वजनिक अडियोमा आक्रोश पोख्दै “हैजा लागेर वीरगञ्जमा मान्छे मरेका छन्, तपाईं के गर्दै हुनुहुन्छ ?” भनेर प्रश्न गरेकी थिइन् ।
अडियोमा उनले वितरित खानेपानीको गुणस्तरबारे प्रश्न उठाउँदै मन्त्रीलाई “तपाईं एसीमा रमाउनुभएको छ, हामी अस्पताल धाउन बाध्य छौँ” भन्ने आक्रोशित भनाइसमेत राखेकी थिइन् । एक चरणमा उनले “म डराउँदिन, मारी दिन्छु” भन्ने शब्द प्रयोग गरेकी थिइन् । मन्त्री पक्षले यसलाई ज्यान मार्ने धम्कीका रूपमा लिएको छ भने परिवारले यो आक्रोशको क्षणिक अभिव्यक्ति भएको दाबी गरेको छ ।
मानव अधिकारकर्मी र परिवारको आपत्ति
स्वतन्त्र मानव अधिकार समाज वीरगञ्जका सभापति कृष्णकुमार खनालले यस घटनालाई राजनीतिक रंग दिइएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार “किरणको बोल्ने शैली नमिलेको भए पनि नियतपूर्वक धम्की दिएको देखिँदैन । प्रहरी प्रशासनले संवादबाटै टुंग्याउन सक्थ्यो, तर सिधै मुद्दा दर्ता गरिएको छ, जसले सत्ता र दबाबको प्रभाव देखाउँछ ।”
किरणका दाजु प्रमोद साहले पनि बहिनीलाई अस्पतालमै कुरुवा रहेको अवस्थामा पक्राउ गर्नु अमानवीय भएको बताएका छन् । “समस्या सुनाउँदा मन्त्रीले ‘राजा’ बन्न हुँदैन । सानो विषयलाई ठुलो बनाइएको छ । मन्त्रीले पावरको दुरुपयोग गर्नुभयो,” उनले भने ।
वीरगञ्जमा हैजा र झाडापखालाबाट प्रभावित हुनेहरूको संख्या अझै उच्च छ । जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म ८३२ जना बिरामी अस्पतालमा भर्ना भएका छन् । तीमध्ये ७४६ जना निको भएर घर फर्किसकेका छन् भने ८६ जना अझै उपचाररत छन् । यसमध्ये ४० जनामा हैजा पुष्टि भएको छ ।
भिडियाे सामाग्री