करिब ८ करोड रुपैयाँ खर्च गरेर नव निर्मित आन्तरिक राजस्व कार्यालय, बारा सिमरा उद्घाटन नहुँदै तोडफोड र आगजनीको कारण क्षतिग्रस्त भएको छ ।
भर्खरै सम्पन्न भएर सेवा प्रारम्भ गरेको यो आधुनिक भवन जेनजी आन्दोलनका क्रममा लक्षित रूपमा ध्वस्त पारिएको हो । यस कार्यालयले बारा–रौतहटका करदाताका विवरण दर्ता गर्ने, कर संकलन गर्ने र करदातालाई सुविधा उपलब्ध गराउने महत्त्वपूर्ण काम गर्दै आएको थियो । तर आन्दोलनका क्रममा सम्पूर्ण कागजपत्र, कम्प्युटर, ल्यापटप, फर्निचर, एसीदेखि फ्रिजसम्म लुटपाट, तोडफोड र आगजनीबाट नष्ट भएका छन् ।
कार्यालय प्रमुख दिनेश पाण्डेका अनुसार सम्पूर्ण भौतिक सम्पत्ति जलेर नष्ट भए पनि करदाताले तिनुपर्ने कर अनलाइन प्रणालीमार्फत सुरक्षित छ । भग्नावशेषमै नयाँ दृढ सङ्कल्पका साथ काम सुरु गर्ने उनले बताए ।
उनका अनुसार भदौ २३ गते दिउँसो सामान्य तोडफोड भएपछि साँझ ७ बजे हतियारसहित आएको समूहले योजनाबद्ध ढंगले कागजपत्र खोजतलास गरेर जलाएको हो । फाइल भण्डारण कक्ष र प्रमुखको कोठा लक्षित रूपमा तोडफोड हुनु ठूलो गिरोह संलग्न भएको प्रमाण हो ।
भवनमा दुई दिनसम्म आगो बलिरहँदा ढलान खसेको, पिल्लर चर्किएको र सम्पूर्ण संरचना प्रयोग योग्य नरहेको प्रारम्भिक मूल्याङ्कनले देखिएको छ ।
प्राविधिक मूल्याङ्कन सुरु
कार्यालयले भवनको प्राविधिक क्षति मूल्याङ्कनका लागि सम्बन्धित निकायलाई पत्राचार गरेको छ । मन्त्रालय र विभागबाट उपलब्ध साधनस्रोत प्रयोग गरेर तत्काल सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ।
करदाताले कर बुझाउने काममा समस्या नआओस् भनेर कार्यालयले अनलाइन प्रणालीमार्फत सेवा लिन आग्रह गरेको छ । सार्वजनिक सम्पत्तिमाथि अराजक ढंगले आक्रमण गर्नेहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने प्रमुख पण्डेले बताए । उनका अनुसार कारबाही नभए जनताको जिउधनमा थप जोखिम बढ्छ त्यसैले अराजक समूहको मनोबल घटाउन हदैसम्म कार्वाहि गरिनुपर्छ ।