जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी सांसद डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि चिकित्सकहरूको सल्लाहअनुसार उनीहरूलाई डिस्चार्ज गरिएको हो । आक्रमणका क्रममा देउवाको घाँटीमा धारिलो हतियार प्रहार हुँदा आठ वटा टाँका लगाइएको थियो । त्यस्तै, डा. राणाको पनि घाँटीमा चोट लागेको थियो । हाल टाँका खोलेर अन्य जटिलता नदेखिएपछि अस्पतालले डिस्चार्ज गरेको जनाएको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उनीहरू अस्थायी रूपमा ललितपुरमा बस्ने तयारीमा छन् । बूढानीलकण्ठस्थित निजी निवास आक्रमणका कारण क्षतिग्रस्त भएकाले पुनर्निर्माण नभएसम्म ललितपुरमा बसाइ सर्ने तयारी गरिएको हो ।
नयाँ निवास छनोटका लागि कांग्रेस नेताहरू सक्रिय भएका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जावलाखेल र सानेपाबीच विकल्प खोजिएको छ । जावलाखेलस्थित घर मध्यबजारमा भएकाले त्यति उपयुक्त नभएको भन्दै नेताहरूले सानेपास्थित डा. राणाको माइती घरलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।