दशैंको टीकाको भोलिपल्टदेखि लगातार परेको वर्षाले पर्सा जिल्लाको धान खेतीमा व्यापक असर पारेको छ ।
अविरल वर्षाका कारण जिल्लाभर सयौं बिघा धान खेती डुबानमा परेको र धेरै घरहरूमा समेत पानी पसेको स्थानीय प्रशासनले जनाएको छ । सबैभन्दा बढी असर छिपहरमाई गाउँपालिकाको जयमङ्गलापुर, टिहुकी, भिस्वा, बुडगाईं, धोबिनी गाउँपालिकाको हरिहरपुर, आसवारी, भीखमपुर, पकाहामैनपुर गाउँपालिकाको खेसराहा, धोबियाटोला, सबैठवा, धोरे, जगन्नाथपुर गाउँपालिकाको मसिहानी, सुपुर, मधुवाहा, पोखरिया नगरपालिकाको सतवरिया, पोखरिया बजार, बहुदरमाई नगरपालिकाको रामनगरी, डोकैला बहुअरी तथा बिन्ध्यवासिनी गाउँपालिकाको अमरपट्टी, इटियाही, झौवा, परसौनीभाठा, गर्दाैललगायत क्षेत्रहरूमा परेको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार कतिपय बस्तीमा घरभित्र समेत पानी पसेको छ । ग्रामीण भेगलाई सदरमुकाम वीरगंजसँग जोड्ने मुख्य सडकहरू पनि अवरुद्ध भएका छन् । पोखरिया–वीरगंज सडकखण्डअन्तर्गत लच्का पुल, तिलावे–पकाहामैनपुर जोड्ने परसौनीभाठास्थित पुल तथा हुलाकी सडकका विभिन्न भागमा पानीको तीव्र बहावले आवागमन ठप्प भएको छ ।
वर्षाले विशेषगरी सोना मन्सुली प्रजातिका धान खेतीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले जानकारी दिए । उनका अनुसार बाला लाग्न थालेको धानमा हिलो र पानी जम्दा उत्पादन घट्ने सम्भावना छ, तर बाला नलागेको धानमा भने यो पानी लाभदायी हुने बताइन्छ ।
ठाकुरका अनुसार, “शुरूमा रोपाइँ गरेका खेतहरूमा धानको बाला लाग्न थालेकोले ती खेतीलाई घाटा हुन्छ, बाँकी खेतका लागि यो पानी फाइदाजनक हुन सक्छ ।” उनले थपे, “धानपछि हुने दलहन र तेलहन बालीका लागि यो पानी उपयोगी छ। दुई महिनापछि जमिन सुक्ने र माटो मलिलो हुने भएकाले आगामी खेती राम्रो फल्ने सम्भावना छ ।”
तर स्थानीय किसानहरू भने चिन्तित छन् । उनीहरूका अनुसार असोजपछि धान भित्र्याएर आलु खेती गर्ने तयारीमा रहेका किसानहरूलाई यो पानीले समस्या ल्याएको छ । खेतहरूमा पानी जमेकाले आलु खेती गर्न ढिलाइ हुने र वैकल्पिक बाली रोज्नुपर्ने अवस्था आएको उनीहरू बताउँछन् ।
यसका साथै माछापालन गर्ने किसानहरू पनि प्रभावित भएका छन् । खेतहरू जलमग्न हुँदा पोखरीका डिल कमजोर भएर माछा बाहिरिएको र ठूलो आर्थिक घाटा बेहोर्नु परेको माछापालकहरूले बताएका छन् । कृषि बीमा नगरेकाहरूको क्षति झन् बढी भएको उनीहरूको गुनासो छ ।
भिडियाे सामाग्रीहरू