जनकपुरधाम । धनुषाका १२ वटा स्थानीय तहका शिक्षकहरू साउन महिनादेखि तलब भत्ताबाट वञ्चित भएका छन् । स्थानीय तहको आन्तरिक विवाद र प्रशासनीक समस्या तथा बजेट नपुगेका कारण यहाँका शिक्षकहरूले नियमित तलब पाउन सकेका छैनन् ।
नेपाल शिक्षक सङ्घ धनुषाका अध्यक्ष सुरेश यादवले मिथिला, छिरेश्वरनाथ, जनकपुरधाम, धनुषाधाम, सहिदनगर, कमला, हंसपुर, धनौजी, मुखियापट्टी मुसहरनिया, मिथिला बिहारी, औरही र जनकनन्दिनी गरी १२ स्थानीय तहका शिक्षक साउनदेखि तलब नपाएको जानकारी दिनुभयो। चाडपर्वको बेलामा समेत तलब नपाउँदा शिक्षकहरूमा निराशा छाएको उहाँले बताउनुभयो ।
शिक्षकहरूले सम्बन्धित स्थानीय तहका प्रमुख र सरोकारवाला निकायमा पटक–पटक ज्ञापनपत्र बुझाए पनि सुनुवाइ हुन सकेको छैन। सङ्घीय सरकारले समयमै शिक्षकको तलब रकम पठाएको भएपनि स्थानीय तहमा जनप्रतिनिधिबीचको आन्तरिक मतभेदका कारण तलब रोकिएको छ ।
शिक्षक यादवले भन्नुभयो, "सङ्घीय सरकारले शिक्षकको तलब मासिक रूपमा निकासा गर्ने व्यवस्था गरेको छ, तर स्थानीय तहको बेथितिले शिक्षक समस्यामा परेका छन् । यदि दीपावलीअघि पनि तलब उपलब्ध नगराए संघर्षका घोषणा गर्नेछौं।" उहाँले तलब यथाशीघ्र उपलब्ध गराएर शैक्षिक वातावरण सहज बनाउन आग्रह गर्नुभयो ।
राष्ट्रिय कर्मचारी आन्दोलन परिचालन समिति छिरेश्वरनाथका संयोजक विष्णुदेव यादवले तलब भत्ता रोकिँदा साधारण जीवन यापनमा समेत आर्थिक सङ्कट उत्पन्न भएको दुखेसो सुनाउनुभयो । उहाँले दसैं, तिहार र छठजस्ता पर्वका बेलामा पनि कर्मचारीहरू तलब भत्ताबाट वञ्चित भएको बताउनुभयो ।
धनुषाका १८ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहले आर्थिक वर्ष २०८२–८३ को नीति, कार्यक्रम तथा बजेट पारित गर्न नगर सभा गर्न सकेको छैन। नगर सभा सम्पन्न गरेका सात वटा स्थानीय तहले पनि प्रशासनीक समस्याका कारण शिक्षक र कर्मचारीको तलब भत्ता उपलब्ध गराउन सकेको छैन । बजेट समयमै नआउँदा स्थानीय विकास, पूर्वाधार निर्माण, स्वास्थ्य र शिक्षा क्षेत्रमा असर परेको स्थानीयहरूले बताएका छन् ।
छिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामउदगार अधिकारीले नगर सभा नभएकाले शिक्षकको तलब भत्ता उपलब्ध गराउन नसकिएको जानकारी दिनुभयो। नगर प्रमुख सुखदेव यादवले नगर सभा सम्पन्न गर्न नियमित छलफल भइरहेको जानकारी गराउनुभयो ।