अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, आर्थिक वर्ष २०७८/७९ मा त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ५ खदाङदेखि ल्हाासम्मको मोटरबाटो स्तरोन्नतिका क्रममा अनियमितता भएको ठहरपछि यो मुद्दा दायर गरिएको हो ।
आयोगले सो प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र एमआइएस अपरेटर हरिचन्द्र विष्ट विरुद्ध मुद्दा दायर गरेको हो ।
त्यसैगरी आयोजनाको खरिद प्रक्रिया मूल्याङ्कनमा संलग्न बोलपत्र मूल्याङ्कन समितिका सदस्य तथा इन्जिनियर शिशिरकुमार गुरुङ, निर्माण व्यवसायी भीमराज न्यौपाने, र दिव्या निर्माण सेवा प्रालि, दुनै डोल्पा लाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।
आरोपपत्रअनुसार, सो आयोजना कार्यान्वयनका क्रममा करार, मापन, भुक्तानी लगायतका प्रक्रिया तोकिएकै मापदण्डविपरीत गरिएका थिए ।
अख्तियारले सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कारबाही मागदाबी गर्दै जनही ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा बराबरको बिगो कायम गरेको छ ।