चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा वीरगञ्ज नाका हुँदै रु दुई खर्ब ८४ अर्ब ८९ करोड बराबरका वस्तु तथा सामान आयात भएका छन् ।
यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको छ । गत आवको पहिलो चार महिनामा वीरगञ्ज नाका हुँदै रु दुई खर्ब ४१ अर्ब तीन करोडको आयात भएको थियो । त्यसको तुलनामा यस वर्ष सोही अवधिमा रु ४३ अर्ब ८६ करोडले आयातमा वृद्धि भएको छ । वृद्धि दर १८ प्रतिशत रहेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार आयात मात्र होइन, राजस्व सङ्कलन पनि समानुपातिक रूपमा बढेको छ । गत आवको पहिलो चार महिनामा रु ६६ अर्ब ७३ करोड राजस्व संकलन भएकोमा, चालु आवको सोही अवधिमा रु ७५ अर्ब ५९ करोड राजस्व संकलन हुन सफल भएको छ ।
चार महिनामा वीरगञ्ज नाका हुँदै सबैभन्दा धेरै प्रमुख आयातित सामग्री वस्तुहरू
- फलाम तथा फलामबाट बनेका सामग्री – रु २५ अर्ब ५२ करोड
- मेसिनरी तथा पार्टपुर्जा – रु १९ अर्ब ५४ करोड
- भटमासको कच्चा तेल – रु १८ अर्ब ३१ करोड
- इलेक्ट्रिक मेसिनरी तथा उपकरण – रु १६ अर्ब चार करोड
- मलखाद – रु १५ अर्ब ४३ करोड
वीरगञ्ज नाका नेपाल–भारत व्यापारको मुख्य मार्ग हो । आयात वृद्धि तथा उच्च राजस्व संकलनले यो नाका देशको अर्थतन्त्रका लागि अझ महत्वपूर्ण बन्दै गएको भन्सार कार्यालयको मूल्यांकन छ ।