पर्साको वीरगञ्जमा जेन–जी पुस्ताका युवाहरूले सिर्सिया नदीको प्रदूषणविरुद्ध दबाबमूलक अभियान सुरु गरेका छन् । अभियानअन्तर्गत उनीहरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) र वीरगञ्ज महानगरपालिकाका प्रमुखलाई फोहोर नदीको पानी बोतलमा भरेर उपहार दिएका छन् ।
शनिबार करिब ३० जना जेन–जी युवाहरू रानीघाटस्थित सिर्सिया नदीमा पुगेर त्यहाँबाट २० वटा बोतलमा नदीको फोहोर पानी संकलन गरेका थिए । संकलित फोहोर पानी जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तथा वीरगञ्ज महानगरपालिकाका मेयरको कार्यालयमा लगेर बुझाइएको हो ।
लामो समयदेखि बारा र पर्सा हुँदै बग्ने सिर्सिया नदी प्रदूषण र अतिक्रमणको चपेटामा पर्दै आएको छ । नदीको सफाइ र संरक्षणका लागि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै युवाहरूले स्वस्फूर्त रूपमा दबाब सिर्जना गर्न यस्तो अभियान थालेका हुन् ।
बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगहरूले उद्योगबाट निस्कने रसायनयुक्त दूषित पानी र फोहरजन्य पदार्थ सिधै सिर्सिया नदीमा बिसर्जन गर्दै आएका कारण नदी अत्यधिक प्रदूषित भएको स्थानीयको आरोप छ। झण्डै तीन दशकदेखि औद्योगिक प्रदूषणको प्रत्यक्ष असर भोग्दै आएको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने विषयमा पटक–पटक बहस र छलफल भए पनि प्रभावकारी काम हुन सकेको छैन ।
वीरगञ्ज महानगरपालिकाले समेत पटक–पटक नदीलाई प्रदूषणमुक्त बनाउने प्रतिबद्धता जनाए पनि ठोस काम नदेखिएपछि युवाहरू आफैं सरसफाइ र दबाबमूलक अभियानमा जुटेको उनीहरूको भनाइ छ ।
अभियानमा संलग्न युवा किसु सर्राफका अनुसार दबाबमूलक अभियानको पहिलो दिन शनिबार सिर्सिया नदीको कालो पानी २० वटा बोतलमा भरेर प्रशासन र महानगरमा बुझाइएको हो । यसअघि महानगरसहित अन्य निकायले गरेको प्रयास असफल भएपछि अब युवाहरू स्वस्फूर्त रूपमा अगाडि बढेको उनले बताए ।
उनका अनुसार आगामी शनिबार बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगहरू, वीरगञ्ज उद्योग वाणिज्य संघलगायत उद्योगहरूमा पनि बोतलमा फोहोर नदीको पानी लगेर दिने कार्यक्रम तय गरिएको छ ।
यस्तै, अभियानअन्तर्गत पर्साका अन्य पालिकाहरू, बाराको परवानीपुर गाउँपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, संघ तथा प्रदेश सभामा प्रतिनिधित्व गरेका निर्वतमान संघीय सांसद, पूर्व संघीय सांसद, प्रदेश सांसद र पूर्वमन्त्रीहरूको घर तथा कार्यालयमै पुगेर फोहोर पानीसहितको बोतल बुझाउने कार्यक्रम समेत रहेको अर्का एक अभियन्ताले जानकारी दिए ।