छठ पर्वको अवसरमा वीरगंज का व्यवसायी सन्तोष सर्राफले बाराको परवानीपुर गाउँपालिका–४ स्थित चैनपुर गाउँका आर्थिक रूपमा विपन्न दर्जनौँ व्रतालु परिवारलाई पूजा सामग्री वितरण गरेका छन् ।
वीरगंज महानगरपालिका–१० निवासी तथा ‘सन्तोष जी को बिजुली पसल’का सञ्चालक सर्राफले आर्थिक अवस्था कमजोर भएका परिवारलाई छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले आवश्यक पूजा सामग्री सहयोग गरेका हुन् ।
परिवारसहित चैनपुर पुगेका सर्राफले पछाडि पारिएका समुदायका सदस्यहरूलाई आत्मीयतापूर्वक अँगालो हाल्दै छठ पर्वको शुभकामना आदानप्रदान गरेका थिए । सो क्रममा उनले समाजमा विद्यमान जातीय विभेद, छुवाछुत तथा सामाजिक भेदभाव अन्त्य गरी सबैलाई समान व्यवहार गर्नुपर्ने सन्देश दिएका थिए ।
कार्यक्रममा बोल्दै सर्राफले समाजमा आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिए। उनले हिन्दु राष्ट्र कायम गर्ने अभियानलगायत सामाजिक तथा धार्मिक विषयमा सबै समुदाय मिलेर अघि बढ्नुपर्ने धारणा राख्दै सम्पूर्ण व्रतालु तथा श्रद्धालुहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरे।
विगत करिब ३५ वर्षदेखि वीरगञ्जको माईस्थान क्षेत्रमा विद्युत् व्यवसाय सञ्चालन गर्दै आएका सर्राफ पछिल्लो २० वर्षदेखि विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय छन्। पछिल्लो समय उनी गाउँगाउँ पुगेर विपन्न परिवारलाई सहयोग गर्नुका साथै सामाजिक सद्भाव, भाइचारा र एकताको सन्देश फैलाउने अभियानमा जुटेका छन्।
जातीय विभेद र छुवाछुतभन्दा माथि उठेर मानवता तथा समानतालाई प्राथमिकता दिँदै गरिएको सहयोगको स्थानीयवासीले प्रशंसा गरेका छन्।