महापर्व छठ नजिकिएसँगै वीरगंजको ऐतिहासिक घडीअर्वा पोखरीस्थित छठघाटमा तयारी तीव्र पारिएको छ । यस वर्ष छठपूजालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न छठपूजा व्यवस्थापन समिति तथा घडीअर्वा स्पोर्ट्स क्लब सक्रिय रूपमा जुटेका छन् ।
छठपूजा व्यवस्थापन समितिका अनुसार विगत एक महिनादेखि भइरहेको तयारीको काम हालसम्म करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । बाँकी काम पनि छठ पर्व सुरु हुनुअघि नै पूरा गर्ने लक्ष्यसहित व्यवस्थापनलाई तीव्रता दिइएको छ ।
छठघाटमा आउने श्रद्धालु भक्तजनको सुरक्षा, सहजता र व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको समितिले जनाएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल तथा विभिन्न क्लब र सामाजिक सङ्घसंस्थासँग समन्वय भइरहेको छ ।
यस वर्ष पनि छठी माताको आराधनाका अवसरमा नेपाली सेनाले सलामी अर्पण गर्ने कार्यक्रम तय गरिएको छ। गत वर्षसमेत नेपाली सेनाले छठी मातालाई सलामी अर्पण गरेको थियो ।
समितिले यस वर्ष घडीअर्वा पोखरीस्थित छठघाटमा करिब २ देखि ३ लाख श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरेको छ । छठपूजा व्यवस्थापनका लागि करिब २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उक्त रकम वीरगंजका व्यापारी, नागरिक समाज, चन्दादाता तथा विभिन्न सहयोगीबाट प्राप्त आर्थिक सहयोगमार्फत जुटाइने समितिले जनाएको छ । आर्थिक स्रोत व्यवस्थापनका लागि २०० रुपैयाँको सहयोग चिठ्ठासमेत सञ्चालन गरिएको छ ।
यसैबीच, छठपूजा व्यवस्थापन समिति र घडीअर्वा स्पोर्ट्स क्लबले प्रधानमन्त्री बालेन्द्र शाहलाई समेत घडीअर्वा पोखरीको छठपूजामा सहभागी हुन निमन्त्रणा गरेका छन् । यहाँका प्रतिनिधिसभा सदस्यहरूमार्फत प्रधानमन्त्री शाहलाई निमन्त्रणा पठाइएको हो ।
छठपूजा व्यवस्थापन समितिका सदस्य प्रभाकर गुप्ताका अनुसार प्रधानमन्त्री शाहको उपस्थितिले छठ पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वलाई थप उचाइ दिने विश्वास समितिले लिएको छ ।
वीरगंजको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित घडीअर्वा पोखरीमा प्रत्येक वर्ष ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनले छठ पर्व मनाउँदै आएका छन् । यस वर्ष पनि घाटको सरसफाइ, सुरक्षा, बत्ती, सजावट तथा अन्य आवश्यक व्यवस्थापनलाई व्यवस्थित बनाउँदै पर्वलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको छ ।