वीरगंज कारागार कार्यालय, पर्साबाट फरार भएका एक कैदीलाई प्रहरीले फरार भएको करिब पाँच घण्टाभित्रै भारतको सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–४, सतवरिया निवासी ३० वर्षीय सुनिल साह तुरहा रहेका छन्। उनी जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार तुरहा बिहीबार बिहान करिब ८ः२० बजे कारागार कार्यालयको प्यारोल शाखाको पर्खाल छेउबाट भागेर फरार भएका थिए ।
कैदी फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष प्रहरी टोली परिचालन गरी खोजतलास तीव्र पारिएको थियो । खोजतलासका क्रममा उनलाई भारतको बिहार राज्यअन्तर्गत मोतीहारी जिल्लाको आदापुर थाना क्षेत्रस्थित नेपाल–भारत सीमा नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तुरहालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी मल्लले जानकारी दिएका छन् ।