मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा परी गाउँपालिकाका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।
बिहीबार बिहान मकवानपुरको चिसापानी गढी क्षेत्रमा भएको ईभी दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको ज्यान गएको थियो ।
गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले बिहीबार साँझ शोक वक्तव्य जारी गर्दै गाउँपालिकावासीको दुःखद् निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । साथै, मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । गाउँपालिकाले शोकका कारण शुक्रबार गाउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालयलगायत गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यसैगरी, दुर्घटनामा मृत्यु भएका प्रत्येक व्यक्तिको परिवारलाई अन्तिम संस्कार तथा काजकिरिया खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गाउँपालिकाले गरेको छ ।
एकै गाउँका १३ जनाको दुर्घटनामा मृत्यु भएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ। छठ पर्व मनाउन घर फर्किंदै गरेका गाउँलेको एकैपटक ज्यान गएपछि गाउँपालिकामा शोकको वातावरण छाएको छ ।