वीरगंज महानगरपालिका–१० स्थित घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पर्वलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले पोखरी परिसरमा सरसफाइ, सजावट, झिलिमिली बत्ती जडान तथा आकर्षक मण्डप निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
आयोजकका अनुसार छठ पूजाको तयारीअन्तर्गत हालसम्म करिब ९० देखि ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। बाँकी काम पनि छठ पर्वअघि नै पूरा गर्ने गरी तयारी भइरहेको छ ।
यस वर्षको छठ पूजा विगतका वर्षहरूको तुलनामा अझ व्यवस्थित र आकर्षक बनाउने प्रयास गरिएको आयोजकले जनाएको छ । विशेषगरी भक्तजनको सहज आवागमन, सुरक्षा, सरसफाइ तथा स्वास्थ्य सेवालाई प्राथमिकतामा राखिएको छ ।
आयोजकका अनुसार छठ पूजाका लागि करिब ५० देखि ६० जना स्वयंसेवक परिचालन गरिनेछ । त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्लाका अन्य सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको छ। भक्तजनको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिने तयारी छ ।
विगतका वर्षहरूको अनुभवका आधारमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने समयमा गरी करिब डेढदेखि दुई लाख भक्तजनको आवतजावत हुने आयोजकको अनुमान छ ।
यस वर्ष छठ पूजाको अवसरमा नेपाली सेनाले छठी मैयालाई सलामी अर्पण गर्ने विशेष कार्यक्रमसमेत राखिएको आयोजकले जानकारी दिएको छ। यसले छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
त्यसैगरी, पोखरी परिसरमा स्वास्थ्य शिविरको व्यवस्था गरिनेछ । पूजाका क्रममा कुनै भक्तजन बिरामी परे तत्काल उपचार उपलब्ध गराउने तयारी गरिएको छ। सम्भावित आगलागी तथा अन्य विपद् जोखिमलाई ध्यानमा राख्दै दमकलको व्यवस्था पनि गरिने आयोजकले जनाएको छ ।
यसैबीच, छठ पूजामा सहभागी हुन प्रधानमन्त्रीलाई समेत औपचारिक निमन्त्रणा पठाइएको आयोजकले जनाएको छ। तर प्रधानमन्त्रीको सहभागिताबारे भने हालसम्म आधिकारिक जानकारी प्राप्त भइसकेको छैन ।
घडिअर्वा पोखरीमा भइरहेको तयारीले छठ पर्वको रौनक बढाएको छ। धार्मिक आस्था, संस्कृति र सामाजिक सद्भावको प्रतीकका रूपमा मनाइने छठ पर्वलाई सुरक्षित, स्वच्छ र व्यवस्थित बनाउन आयोजक अन्तिम तयारीमा जुटेको छ ।