त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब ४ किलो २८४ ग्रामसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौँ आएका सिंहको लगेज जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेपछि उनलाई पक्राउ गरिएको हो ।
सोही लागूऔषध सङ्कलन गर्न विमानस्थल पुगेका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि प्रहरीले अन्तरराष्ट्रिय आगमन पार्किङ एरियाबाट पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएको छ ।