विद्यार्थीहरूको बौद्धिक क्षमता, रणनीतिक सोच र अनुशासन विकास गर्ने उद्देश्यसहित राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (नेशनल प्याब्सन, वीरगंज) को आयोजनामा चेस प्रतियोगिता–२०८२ वीरगंजकाे ओम पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ ।
प्राथमिक, माध्यमिक तथा माध्यमिक (+2) तहका विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित सम्पन्न प्रतियोगिताले वीरगंजको शैक्षिक क्षेत्रलाई थप सक्रिय र ऊर्जावान बनाएको आयोजकले जनाएको छ ।
नेशनल प्याब्सन वीरगंजका नगर अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राथमिक तहतर्फ जीएचपी स्कुलका आयुष गुप्ताले प्रथम स्थान हासिल गर्दा ज्ञान उदय स्कुलका नितिन कानु द्वितीय र आइडियल एकेडेमीका रिदम राई तृतीय भएकाे छ ।
त्यसैगरी माध्यमिक तहतर्फ डीपीएसका सिद्धार्थ श्रेष्ठ प्रथम हुन सफल भए भने कदाम्बरी एकेडेमीका पियुष कुमार साह द्वितीय र सगरमाथा एकेडेमीका किशन साह तृतीय स्थानमा रहे ।
माध्यमिक (+2) तहतर्फको प्रतिस्पर्धामा ममता विद्या मन्दिर स्कुलका समित चौधरी प्रथम बनेभने, डेसिमल पब्लिक कलेजका आयुष चौरसिया द्वितीय स्थानमा रहँदा दिल्ली पब्लिक स्कुलकी सुमेधा खण्डेलवाल तृतीय भइन् ।
उत्कृष्ट प्रदर्शन गर्ने विजेता तथा सहभागी सबै विद्यार्थीहरूलाई आयोजक संस्थाद्वारा प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजकले प्रतियोगिताले विद्यार्थीहरूमा बौद्धिक क्षमता, रणनीतिक सोच र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको जनाएको छ ।
विभिन्न विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूले प्रतिस्पर्धात्मक र खेलभावनायुक्त खेल प्रदर्शन गर्दै दर्शकहरूको ध्यान आकर्षित गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा रहेका शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत विद्यानन्द प्रसाद यादवले यस्ता बौद्धिक खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा निर्णय क्षमता, धैर्यता र नेतृत्व विकासमा सकारात्मक योगदान पुर्याउने बताएका थिए ।
कार्यक्रमका संयोजक प्रमोद कुमार साह र हरिन्द्र प्रसाद कुशवाहाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै विद्यालय, शिक्षक, अभिभावक तथा आयोजक टिमप्रति धन्यवाद व्यक्त गरेका थिए । काव्या एकेडेमीकी प्रधानाध्यापक ममता कुशवाहाले कार्यक्रमको सहजिकरण गरेकी थिइन् ।
विभिन्न विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूले प्रतिस्पर्धात्मक र खेलभावनायुक्त खेल प्रदर्शन गर्दै दर्शकहरूको ध्यान आकर्षित गरेका थिए ।